तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा सम्बन्ध विच्छेदका घटनामा वृद्धि

तनहुँ । नयाँ मुलुकी अपराध संहितामा सम्बन्ध विच्छेदको प्रावधान खुकुलो पारेसँगै तनहुँमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ ।

मुलुकी अपराध संहितामा पुरुषले चाहेमा पनि कानुन अनुसार सम्बन्ध विच्छेद गर्न सकिने प्रावधान छ ।पहिले महिलाले चाहेमा मात्रै सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था थियो । साथै जिल्लामा हिंसा पीडित महिलाहरू सचेत हुनुले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत तनहुँले जनाएको छ ।

जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७र७८ मा २५८ मुद्दा फैसला गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७०८ मुद्दा दर्ता भएका छन् । दर्तामध्ये चालू आवमा ४५० मुद्दा रहेको छ भने २५८ मुद्दा फैसला भएको हो ।

सम्बन्धविच्छेद मुद्दाका फैसला धेरै भएका छन् । सम्बन्धविच्छेदका ३१३ मुद्दा दर्ता भएकामा चालू आवमा ११४ वटा रहेको छ भने १९९ वटा फैसला भइसकेको सूचना प्रविधि सहायक सरोज तिमिल्सेनाले जानकारी दिनुभयो ।

सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् ।तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार सम्बन्ध विच्छेदका घटना वृद्धि हुनुमा जिल्लामा वैदेशिक रोजगारीका कारण हुने अविश्वास, पुरुषले समेत पनि सम्बन्ध विच्छेद गर्न सक्ने, हिंसा भएका महिलाहरू हक अधिकारका बारेमा जागरूक हुँदै जानु प्रमुख कारण भएको उहाँले बतानुभयो ।

महिला र पुरुष सचेत हुनुले पनि कसैबाट हिंसा हुने बित्तिकै अलग बस्ने चाहानाले पनि यो क्रम बढिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार अदालतमा दर्ता भएका मुद्दाहरुको १ वर्षसम्म छलफलकै क्रममा हुनुभएकाले सकेसम्म मिलाउने गरी मुद्दाको फर्छ्योट गर्ने गरिएको छ ।
उहाँले कतिपय मुद्दा कानुनी हिसाबले पनि ढिलो हेर्नु पर्ने भएकोले चाँडो हेर्न नपाइने उल्लेख गर्नुभयो ।

त्यसैगरी जबर्जस्तीकरणी मुद्दामा १६ वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा रहेको छ भने एउटा फैसला भएको छ । त्यसैगरी लागुऔषध मुद्दामा २३ दर्ता भएकामा चालू आवमा २० वटा रहेको छ भने तीनटा फैसला, घरेलु हिंसामा दश मुद्दा दर्ता भएकामा चालू आवमा नौवटा रहेको छ भने एक फैसला भएको छ । सवारी ज्यान मुद्दामा स्रोह वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा मुद्दा रहेको र एकवटा मुद्दा फैसला भएको कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button