तपाईँ सुन्दै हुनुहुन्छः

पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छः प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताउनुभएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउनुभयो । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उहाँको भनाइ थियो ।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उहाँले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताउनुभयो । पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उहाँले जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताउनुभयो ।     उहाँले भन्नुभयो, “अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ ।  म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।”

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लडाकू व्यवस्थापनका क्रममा क्यान्टोनमेन्टमा ठूलो भ्रष्टाचार गरिएको उल्लेख गर्दै तत्कालीन पार्टीमा अमिक शेरचनको नेतृत्वमा बुझाइएको प्रतिवेदन दबाइएको बताउनुभयो । लडाकूका बीचमा त्यो प्रतिवेदन नजाओस् भनेर च्यातिएको उहाँले जानकारी दिनुभयो । उहाँले औद्यागिक क्षेत्र बनाउने प्रक्रिया सुदूरपश्चिमबाट गरिएको उल्लेख पनि जानकारी दिनुभयो ।

वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोरको कार्य अगाडि बढाउन सरकारले रु ९३ करोड रकम विनियोजन गरेको बताउनुभयो । वनका कारण अड्किएको करिडोरको कार्य पूरा गर्नका लागि मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गरी समाधान गरिने उहाँले जानकारी गराउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको वर्षौदेखिको समस्या समाधान गर्नका लागि शक्तिशाली आयोग गठन गरिने उहाँले बताउनुभयो ।

श्रम तथा रोजगारमन्त्री गौरीशङ्कर चौधरीले विकासको ढोका पश्मिबाट खुलेको चर्चा गर्नु हुँदै औद्योगिक क्षेत्र स्थापनापछि यसले आर्थिक समृद्धिमा टेवा पुर्याउने बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य विकासमन्त्री गणेशसिंह ठगुन्नाले प्रम ओली नेतृत्वको सरकार आउनुअघिसम्म गर्व गर्न लायकको कुनै योजना नरहेको उल्लेख गर्दै आज गेटा मेडिकल कलेज, धनगढी विमानस्थललगायतका योजना अगाडि बढेका उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले वर्तमान सरकारले ३९६ अस्पताल एकै साथ शिलान्यास गरेर किर्तिमान कायम गरेको बताउनुभयो । उहाँले कुराले मात्रै नभएर काम गरेर समृद्धिका कार्य अगाडि बढाएको उल्लेख गर्नुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको कार्य पाँच वर्षभित्रै पूरा हुने बताउनुभयो । उद्योग स्थापना भएपछि ५० हजार मान्छेलाई प्रत्यक्ष रुपमा रोजगारी दिइने उहाँले बताउनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button