तपाईँ सुन्दै हुनुहुन्छः

‘मदन भण्डारीको सिद्धान्त अनुसार राजनीति अगाडि बढेको छ’

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री एवम् मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार देशको राजनीति अगाडि बढेको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनको आयोजनामा सुशासन र समृद्धिका लागि सञ्चार विषयक चितवनमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले मदन भण्डारी फाउन्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएको बताउनुभयो ।

जननेता भण्डारीको नेपालको राजनीति क्षेत्रमा महत्त्वपूर्ण मार्ग निर्देशन रहेको भन्दै उहाँले फाउन्डेसनलाई सफल नेतृत्व प्रदान गरी जनता माझ लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

फाउन्डेसनका केन्द्रिय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेशका नेकपा केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एवम् फाउन्डेसनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवम् सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा रामशरण प्याकुरेल र फाउन्डेसनका बाग्मती प्रदेश अध्यक्ष दीपक निरौलाले सहजीकरण गर्नुभएको थियो ।

फाउन्डेसनको आयोजनामा भोलिदेखि चितवनमा ५ दिने पत्रकारिता तालिम सुरु हुने भएको छ । तालिममा चितवन र मकवानपुरका गरी ३५ जना प्रशिक्षार्थीहरू सहभागी हुने फाउन्डेसनका प्रदेश अध्यक्ष निरौलाले जानकारी दिनुभयो । यसअघि प्रदेशका अन्य ११ वटा जिल्लामा पत्रकारिता तालिम सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button