२०७७ साल फागुन २० गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा करिब ५ हजार जनाले कोरोना विरुद्धको खोप लगाए

किरण श्रेष्ठ २०७७ फागुन ११ गते १३:१७

तनहुँ । तनहुँमा करिब ५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।पहिलो र दोस्रो चरणमा गरी फागुन १० गते सोमबारसम्म ४ हजार ९३७ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

पहिलो चरणको खोप १४ माघदेखि र दोस्रो चरणको खोप फागुन २ देखि १० गते सम्म संचालन भएको थियो ।पहिलो चरणमा १ हजार ८ सय ३० र दोस्रो चरणमा ३ हजार १३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रमुख अधिकारीले बतानुभयो ।

पहिलो चरणमा ९७४ महिला र ८५६ पुरुषलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा ७८४ महिला र २३५३ पुरुषलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

खोप लगाएकाहरूमा सामान्य ज्वरो, शरीर दुखाइरहेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’खोप सुरक्षित रहेकाले सबैले लगाउनुपर्छ ।’पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहर मैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शव वाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले खोप लगाएका थिए ।

दोस्रो चरणमा बैङ्कका कर्मचारी, सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी, सुत्केरी तथा पत्रकार लगायतलाई कोरोना विरुद्धको खोप दिइएको थियो ।