तपाईँ सुन्दै हुनुहुन्छः

जग्गाको मुद्दामा साक्षी बसेका दम्पती अचानक बेपत्ता

बर्दिबास । महोत्तरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका दम्पती नै अचानक बेपत्ता भएको छ ।
जिल्लाको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सोमवार राति सुतेकै स्थानबाट बेपत्ता भएका हुन् ।
झा दम्पती सुतेको ठाउँमा रगत भेटिएकाले घटना शङ्कास्पद बनेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । बेपत्ता दम्पतीको खोजी तीव्र रूपमा भइरहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
मङ्गलवार बिहान अबेरसम्म झा दम्पती नउठेपछि हेर्न जाँदा दुवै ओछ्यानमा नभेटिएको र त्यहाँ रगत पनि देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
स्थानीयका अनुसार झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए । अदालतमा विचाराधीन मुद्दामा विपक्षीसँग उनको विवाद भएको थियो ।
झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । राती खाना खाएर श्रीमान् श्रीमती बेग्लाबेग्लै कोठामा सुतेका थिए । घरमा एक बुहारी र नाति नातिनी छन् । बिहानै उठ्दा सासू ससुरालाई ओछ्यानमा नदेखेपछि बुहारीले स्थानीयलाई जानकारी गराएकी थिइन् ।
‘घटना शङ्कास्पद देखिएकाले घर घेरा हालेर अनुसन्धान गरिरहेका छौँ । घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर (डग टोली) पनि घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ,’ प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button