तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीको रकम ठगी मुद्दामा ५ जनालाई ३ वर्ष कैद

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ स्थित दमौली बचत तथा ऋण सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँच जनालाई कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पाँच प्रतिवादीलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
जिल्ला अदालत तनहुँका स्रेस्तादार मीनबहादुर कुँवरका अनुसार व्यास नगरपालिका–२ का दिव्या थापा, राजु थापा, व्यास नगरपालिका–१ का दीपिका थापा, व्यास नगरपालिका–५ का याममाया दरै र व्यास नगरपालिका–१० का चेलीमाया थापालाई तीन वर्ष कैद सजायको फैसला भएको छ ।
साथै बिगोको हकमा सोही प्रतिवादीबाट दामासाही रुपमा भराउने फैसलासमेत अदालतले गरेको छ । जिल्ला अदालतले अन्य प्रतिवादीलाई भने सफाइ दिएको छ । हरिबहादुर गुरुङले १६ जनालाई प्रतिवादी बनाए २०७५ असार ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दाको दश पटक पेशी चढेको थियो
दमौली बचत तथा ऋण सहकारीमाथि साढे चार करोड रुपैयाँ हिनामिना गरेको अभियोग लागेको थियो । यसअगाडि तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका थिए । सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button