२०७७ साल फागुन २० गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो पटक बिजुली बल्दा स्थानीय खुशीले नाचेँ 

दीपक शर्मा २०७७ फागुन ११ गते १६:०४
सल्यान । बत्ती मुनीको अँध्यारो भने झैँ छिमेकी जिल्लाहरू दाङ, बाँके, बर्दिया र सुर्खेतसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ ।
छिमेकी जिल्लाका नागरिक बत्तीको झिलिमिलीमा रमाएको वषौंको प्रतीक्षा पछि  गाउँपालिकाको केन्द्रसम्म बिजुली पुग्दा खुशीयाली छाएको छ । अन्य ठाउँमा बिजुली बत्ती बलेको देख्दै आएपनि वैकल्पिक ऊर्जाको सहारामा जीवन चलाउँदै आएको वषौं पछि आफ्नै गाउँमा बिजुली बत्ती पुग्दा स्थानीय नाचगान गरी रमाएका छन् ।
स्थानीयहरूले गाउँमा बिजुली आएको खुसीयालीमा सोरठी, टप्पालगायत मौलिक लोक कला संस्कृति प्रदर्शन गरेका हुन । पहिलो पटक विद्युत् आएपछि अब विकासका धेरै सम्भावनाहरू खुल्ला भएको स्थानीय शसिराम ओलीले बताउनुभयो ।
उज्यालो कालीमाटी गाउँपालिका अभियान सञ्चालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा बिजुली बाल्न सफल भएको हो । १ करोड ३८ लाख रुपैयाँको लागतमा आव २०७६/०७७ को स्वीकृत बजेट अन्तर्गत कालीमाटीमा विद्युत् विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरख बहादुर थापाले जानकारी दिनुभयो ।
दाङबाट जोडिएको विद्युतले तत्काल ७ सय बढी घरधुरीमा उज्यालो छाउने छ भने यस विद्युत् लाइनले तीन हजार घर धुरीलाई सुविधा प्रदान गर्ने छ ।
यस अघि वडा न. १ को लक्ष्मिपुरमा करिब ५ सय सय घरधुरीमा र वडा न ३ को लामिडाँडाको ४० बढी घरधुरीमा बिजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताउनुभयो ।
केही सातामै ४ करोड ५२ लाख को लागतमा बाँकी रहेका वडाहरूमा विद्युतिकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ । विद्युत् सहकारी र गाउँपालिकाको साझेदारीमा  योजना सञ्चालन हुन लागेको उपाध्यक्ष सनशिलता ओली डिसीले बताउनुभयो । साथै गाउँपालिकाकै ४० लाख रुपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उनले बताउनुभयो ।