तपाईँ सुन्दै हुनुहुन्छः

आकस्मिक मातृ शिशु स्याहार भवनको शिलान्यास

अछाम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले हरेक नागरिकलाई स्वास्थ्यको हक भएकाले त्यसको पूर्वाधारमा प्रदेश सरकार जुटिरहेको बताउनु भएको छ ।

अछाम सदरमुकाम मङ्गलसेनमा जिल्ला अस्पताल अछामको नयाँ भवनको शिलान्यास  गर्नुहुँदै उहाँले स्वास्थ्य अन्तर्गत पनि मातृ तथा नवजात शिशुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने र पूर्व तयारी रहनुपर्ने कोभिड-१९ ले पाठ सिकाएको भन्नुहुँदै स्वास्थ्य, शिक्षालाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रदेश सरकारको मूल बजेट ३ करोड ४० लाख रुपैयाँको लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण गरिन लागेको अछाम अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रभुनाथ खनालले जानकारी दिनुभयो ।

२०७९ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी बहुबर्षे ठेक्का प्रक्रियाबाट साढे दुई तले २४ कोठे भवन निर्माण गरिने अध्यक्ष खनालको भनाइ छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुङ्गानाले भवनको निर्माण कार्यबाट मातृ तथा नवजात शिशुको स्याहार तथा स्वास्थ्यमा ठुलो टेवा पुग्ने बताउनुभयो । यो भवनबाट सुरक्षित मातृत्व सम्बन्धी सेवा थप व्यवस्थित हुने उहाँको विश्वास छ ।

सुरक्षित मातृत्वका सम्पूर्ण कार्य, अपरेसन कक्ष, स्याहार कक्ष लगायत सेवाहरू नयाँ बन्ने भवनबाट प्रवाह हुने जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर अतुल भारद्वाजले बताउनुभयो ।

भवनको शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य बल बहादुर सोडारी, हर्क बहादुर कुँवर, मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरा लगायतको सहभागिता रहेको थियो ।

यसैवीच प्रदेश सरकारको २० लाखको लागतमा मष्टामाण्डाै आभारभुत विद्यालयको शिलान्यास गरिएको छ । चाैरपाटी गाउँपालिका-४ पायलमा विद्यालय भवनको राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले शिलान्यास गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button