तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा रैथाने बालीको उत्पादन घट्दै

रैथाने बाली गहुँ बिस्कुन सुकाउँदै । तस्बिर :सागर परियार ।

जुम्ला । लोपोन्मुख हुँदै गएको जुम्ली रैथाने बाली उत्पादन क्रमिक रुपमा घट्दै गएको छ ।

सरकारी तथ्याङ्क अनुसार यस वर्ष जुम्लामा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ ।

आव २०७४ देखि ०७६ सालसम्म २७ हजार १ सय १३ मेट्रिकटनभन्दा बढी रैथाने बाली उत्पादन भइरहेको जुम्लामा २/३ वर्षपछि लगभग १४ हजार मेट्रिकटनले उत्पादन घटेर चालु आवमा १२ हजार मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको हो ।

सरकारी तथ्याङ्क हेर्दा जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट बुझिन्छ ।

१४ हजार मेट्रिकटन टन रैथाने खाद्यन्न बाली उत्पादन घटेको जुम्लामा यस वर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन, गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, वर्षे मकै ६ हजार ५ सय ६०, कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ ।

त्यस्तै, जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यन्न बाली उत्पादन भएको कृषि विकास कार्यालयका योजना अधिकृत लक्षिराम महतले बताउनुभयो ।

उहाँका अनुसार सिमी ३ हजार ९ सय ६० मेट्रिकटनसहित  दलहन बाली मास ३८ मेट्रिकटन, भटमास ८१ मेट्रिकटन, गहत ४२ मेट्रिकटन र केराउ ९९ मेट्रिकटन  गरी जम्मा दलहन बाली ४२ सय ५८ मेट्रिकटन उत्पादन भएको छ ।

साथै, तेल बाली ८५ मेट्रिकटन, बर्षे आलु २७ हजार मेट्रिकटन, तरकारी ३३ सय ७५ मेट्रिकटन, हिउँदे फलफूल ४ सय ६५ मेट्रिकटन उत्पादन भएको योजना अधिकृत महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“विगतको तथ्याङ्क हर्दा दोब्बरले रैथाने बाली उत्पादन घटेको देखिन्छ । अधिकांश किसान कम परिश्रम गरेर धेरै उत्पादन गर्ने दाउमा छन् । जसले रैथाने बाली उत्पादन घट्दै गएको हो ।”

कर्णाली प्रदेश सरकारले रैथाने बाली तथा अर्ग्यानिक खेती कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई छ ।

उहाँले विश्व बजारमा माग बढ्दै गएको जुम्ली मार्सी, सिमी, फापर, चिनो कागुनोको प्रर्बद्धनका लागि गाउँ गाउँमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

रैथाने बाली संरक्षणमा स्थानीय तह
विश्व बजारमा जुम्ली रैथाने बालीको माग बढ्दै गएपछि उत्पादन वृद्धि र प्रर्बद्धनमा यहाँका किसान र स्थानीय सरकार जुटेका छन् ।

कृषि विकास कार्यालयले चालु आवमा रैथाने बाली, अर्ग्यानिक खेती कार्यक्रम सञ्चालन गर्दै छ ।

चन्दननाथ नगरपालिकाले बाझो जग्गाको सदुपयोग गर्दै चिनो कागुनो, फापर, मार्से, गहत, कालो भटमासलगायत रैथाने बाली प्रर्बद्धनका लागि बिउ पुजी लगानी गर्ने तयारी गरेको छ ।

मेयर कान्तिका सेजुवालले भन्नुभयो,“रैथाने बाली प्रर्बद्धनका लागि पाइलट प्रोजेक्टकै रुपमा अघि बढेका छौं। चन्दननाथका १० वटै वडाका एकल महिलालाई बिउँ पुजी दिएर बाँझो जग्गामा रैथाने बाली उत्पादन गर्न लगाउने तयारी छ ।”

शरीरलाई पोषण दिने तथा विभिन्न रोगको औषधीकै रुपमा काम गर्ने जुम्ली रैथाने अन्न बालीको प्रर्बद्धनमा जुम्लाका सबै स्थानीय तहको साझा नीति हुनु पर्ने किसानको सुझाव छ । तिला गाउँपालिका–८ का किसान धन बहादुर रावत भन्नुहुन्छ,“रैथाने बालीको महत्त्व बुझेर हामी पुन रैथाने बालीको खेतीमा जुटेका छौं । तर सबै तहको साझा नीति नभएसम्म संरक्षण सम्भव छैन ।”

हाल जुम्लाको ३९ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २६ हजार हेक्टरमा मात्र खेती गरिएको छ । अझै १३ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको सरकारी तथ्याङ्क छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सीको माग बढेसँगै मार्सी र स्याउ खेतीमा आकर्षण बढेपछि अन्य रैथाने बाली उत्पादन भने ह्वात्तै घटेको देखिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button