तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालसँग थप सहकार्य गर्ने विज्ञापनदाताहरूको प्रतिबद्धता

काठमाडौं । रेडियो नेपालको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले रेडियो नेपालले २०७७ फागुन १२ गते बुधवार नेपाल विज्ञापन संघका पदाधिकारी तथा एजेन्सी, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग, गैरसरकारी संस्था तथा निजी व्यवसायीहरूसँग अन्तरक्रिया तथा  बधाई ज्ञापन कार्यक्रमको आयोजना गर्‍यो ।
कार्यक्रममा नेपाल विज्ञापन संघका नवनिर्वाचित पदाधिकारीलाई रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धी बहादुर केसी र नायव कार्यकारी निर्देशक अशोक बास्कोटा, कृष्ण कोइराला, सञ्चालक समिति सदस्य टिका भण्डारीले खादा लगाई बधाई ज्ञापन  गर्नुभएको थियो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धी बहादुर केसीले रेडियो नेपालको समग्र गतिविधिहरूको चर्चा गर्नुहुँदै व्यापार निर्देशिका २०७७ का बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले नयाँ व्यापार निर्देशिकामा विज्ञापन एजेन्सी तथा विज्ञापन र कार्यक्रमदाताका लागि थप सुविधाको व्यवस्था गरिएको जानकारी गराउनुहुँदै रेडियो नेपालमा विज्ञापन र कार्यक्रम उपलब्ध गराउन आग्रह गर्नुभयो ।
नेपाल विज्ञापन संघका नवनिर्वाचित अध्यक्ष सोम धितालले विगतदेखि रेडियो नेपालसँगको सम्बन्धलाई अझ सुधार गर्दै हातेमालो गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले रेडियो नेपालसँगको सहकार्य निरन्तर रहने बताउनुभयो ।
उहाँले रेडियो नेपालमार्फत प्रसारित सामाग्रीबाट नेपालभित्र र नेपाल बाहिर बस्ने श्रमिकले प्रशस्त लाभ लिन सक्ने बताउनुभयो ।
इक्वेल एक्सेसका निर्देशक उपेन्द्र अर्यालले आफ्नो संस्थाले रेडियो नेपालसँग लामो समयदेखि सहकार्य गर्दै आएको र रेडियो नेपाल सबैभन्दा प्रभावकारी प्रसारण माध्यम रहेको बताउनुभयो ।
रेडियो नेपाल व्यापार महाशाखाका निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालमार्फत विज्ञापन तथा कार्यक्रम प्रसारण गर्दा नेपालभित्र र नेपाल बाहिरका अत्यधिक श्रोता लाभान्वित हुने उल्लेख गर्नुहुँदै सहकार्यलाई अझै सुमधुर बनाएर लानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button