तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहका योजनाहरू कार्यान्वयनका लागि सबै पक्षसँग सहकार्य गरिने 

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले स्थानीय तहका नीति, कार्यक्रम तथा योजनाहरू कार्यान्वयनका लागि सबै पक्षसँग समन्वय र सहकार्य गरिने बताउनु भएको छ ।

बेलौरी उद्योग वाणिज्य सङ्घले बिहीबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको बेलौरी नगरपालिकाको नवनिर्मित भवनमा प्रशासनिक कार्यालय सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिहरू र सरोकारवालाहरूसँग कानुनसम्मत रुपमा सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बेलौरी क्षेत्रका ऐतिहासिक र समसामयिक विषय वस्तुबारे नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई संक्षेपमा जानकारी गराउनुहुँदै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले नगरपालिकाका सेवाग्राहीहरूले सहजै सेवा पाउने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले छिमेकी पालिकाहरूभन्दा बेलौरी नगरपालिकाको सक्रियता कम देखिएकोले त्यसमा सुधार ल्याउनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग सहकार्य गर्दै आइरहेको र नगरपालिकाबाट समेत सोही अपेक्षा रहेको उहाँले बताउनुभयो ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा बेलौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीनारायण चौधरी, संस्थापक अध्यक्ष आत्माराम दाहाल, वरिष्ठ उपाध्यक्ष हिरासिंह बिष्टलगायतका वक्ताहरूले बेलौरीको विकास र परिवेशका विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button