तपाईँ सुन्दै हुनुहुन्छः

मैथिली भाषा, साहित्य एवं संस्कृतिको विकास गर्न सरकार दृढ : मन्त्री सोनल 

जनकपुरधाम । प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले मैथिली भाषा, साहित्य एवं संस्कृतिको इतिहास निक्कै पुरानो भएको यसको विकासका लागि प्रदेश सरकार दृढ भएको बताउनु भएको छ ।
मन्त्री सोनलले प्रदेश नंं २ सरकारको सहयोगमा मैथिली विकास कोषको नयाँ निर्माण हुने सुविधा सम्पन्न तीन तल्लाको भवनको आज जनकपुरधाममा शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले कुनै एक भाषाको विकासले अर्को भाषाको विकासमा मद्दत पुग्ने भएकाले विकासलाई अवसरको रुपमा लिनका लागि अन्य भाषा भाषीहरूलाई आग्रह गर्नु भयो ।
प्रदेश मन्त्री सोनलले लोकतान्त्रिक संस्कृतिको विकासले मात्र भाषा एवं संस्कृतिको विकास हुने भएकाले लोकतन्त्र, गणतन्त्रको मजबुत बनाउनका लागि भाषा, साहित्यका विद्वानहरूले कलम चलाउन आवश्यक भएको बताउनुभयो ।
नेकपा प्रदेश नंं २ का संसदीय दलका नेता शत्रुधन महतोले मैथिली भाषा एवं संस्कृतिको विकासका लागि आफू दृढ भएको बताउँदै मैथिली भाषालाई कमजोर गर्नका लागि मगही सहितको भाषाको कुरा उठाउने गरेको बताउनुभयो ।
नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले मैथिली भाषा, साहित्य एवं संस्कृति नेपालको प्राचीन भएकाले यसको विकासका लागि जून गतिले काम हुनु पर्दथ्यो त्यो अनुसार नभएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका प्रदेश सभाका सदस्य परमेश्वर साहले मैथिली भाषाको विकासका लागि बन्न लागेको नयाँ भवनले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।
वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले मैथिली विकास कोषलाई निष्पक्ष रुपमा कामकाज गर्न दिनका लागि कोषलाई राजनीतिकबाट मुक्त राख्नका लागि सुझाव दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button