तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ ।

करिब एक हप्तादेखि विद्यार्थी र शिक्षकहरू एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

बिरामी विद्यार्थी र शिक्षकहरूमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिइरहने जस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनुभयो ।

विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकहरूमा यस्ता लक्षण देखिएको छ ।

एक हप्तासम्म औषधी उपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठिक नभएपछि बुधवार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

२ सय ४५ जना विद्यार्थी र ११ जना शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रमाउपचार गराए पनि पनि बिरामीमा कुनै परिवर्तन नआएको प्रधानाध्यापक विष्ट भोटेले बताउनुभयो ।

साथै केही दिन अगाडि मात्र धौलनमा रहेको धौलन माविका विद्यार्थीहरु र शिक्षकहरूमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षणहरू सरेकाले ४ दिनसम्म बन्द गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button