तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री र राजदुतद्वारा सेनाको कृषि शिक्षालय अवलोकन 

लमजुङ । नेपाल सरकारका कृषि मन्त्री पद्मा अर्यालले लमजुङस्थित नेपाली सेनाको कृषि प्राविधिक शिक्षालय र सुन्दरवजारको कृषि फामको स्थलगत अवलोकन गर्नुभएको छ ।
नेपालका लागि इजरायली राजदूत हनान गोदार सहित कृषि मन्त्री अर्यालले नेपाली सेनाले बेसीशहर–३, पाखाथोकमा निर्माण गर्दै गरेको कृषि प्राविधिक शिक्षालय र सुन्दर बजार–३, चन्द्रेश्वरमा सञ्चालित आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनी लिमिटेडको स्थलगत अनुगमन गर्नुभएको हो ।
व्यावसायिक कृषिलाई प्रवर्द्धन गर्दै जिल्लालाई नमुना कृषि हब बनाउने योजनासहित इजरायली राजदूत गोदार, मन्त्री अर्याल सहितको टोलीले स्थलगत अवलोकन गरेको हो । अवलोकन टोलीमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा, कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की लगायतको सहभागिता रहेको थियो ।
मन्त्री अर्यालले नेपाली सेनाको लमजुङस्थित श्रीजंग गणले सञ्चालन गरेको कृषि प्राविधिक शिक्षालयको तयारी, वर्तमान अवस्था र भावी योजनाबारे जानकारी लिनुभएको थियो । नेपाली सेनाले सेवा निवृत्त हुन लागेका सेनाहरूलाई गत वर्ष देखिनै छोटो अवधिको कृषि तालिम दिँदै आएको छ ।
हाल सिंउडीबारको फूलबारीमा कक्षा सञ्चालन हुँदै आए पनि दीर्घकालीन रुपमा यसलाई थप व्यवस्थित सञ्चालन गर्न बेसीशहर–२, पाखाथोकमा संरचना निर्माण शुरु गरेको छ । आगामी वैशाख सम्म सबै संरचना निर्माण सम्पन्न हुने र नयाँ शैक्षिक सत्र शुरु गर्ने सेनाले तयारी गरेको छ । नेपाली सेनाले कृषि प्राविधिक सँगै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित कृषि सङ्कायमा स्नातक तहको पढाई शुरु गर्ने समेत तयारी गरेको छ ।
नेपाली कृषिमा इजरायली प्रविधि भित्र्याउँदै व्यावसायिक कृषिलाई बढवा दिने सरकारको आन्तरिक तयारी रहेको कृषि मन्त्री अर्यालले बताउनुभयो । मन्त्री अर्यालले सेनाले कृषि प्राविधिक क्षेत्रमा गर्न लागेको कामहरूमा सरकारका तर्फबाट थप समन्वय र साझेदारी गर्ने समेत उल्लेख गर्नुभयो ।
यसै गरी मन्त्री र राजदूत सहितको टोलीले सुन्दरवजारको आरभा कृषि फार्ममा पनि स्थलगत अवलोकन गरेको थियो । इजरायलमा कृषि विषय अध्ययन गरेका र कामको अनुभव लिएका ९४ जना युवाहरूले केही वर्ष अघिदेखि सुन्दरवजारको दुराडाँडामा व्यावसायिक कृषि शुरु गरेका हुन् ।
विभिन्न जिल्लाका युवाहरू मिलेर लमजुङमा आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेड दर्ता गरी कृषि सुरु गरेका हुन् । सोही कृषि फार्म अवलोकनका लागि राजदूत गोदार, मन्त्री अर्याल लमजुङ आउनुभएको हो ।
सुन्दर बजार नगरपालिका–३, चन्द्रेश्वरमा गाई, बाख्रा, कुखुरा, हाँस, माछा पालन, तरकारी खेतीका साथै कृषि तालिम केन्द्र सञ्चालन गर्ने उनीहरूको लक्ष्य छ । कृषिका लागि ३ करोड भन्दा बढी लगानी गरी भौतिक संरचना निर्माण भएको छ । व्यवसायीक र सामूहिक कृषिसँगै कृषि पर्यटनको विकास गर्ने लक्ष्य रहेको सञ्चालकहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button