तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत जनकपुरधामबाट लक्ष्य भन्दा कम मुद्दाको फर्छ्यौट

जनकपुरधाम । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा कोरोनाका कारणले लक्ष्य भन्दा निक्कै कम मात्रामा मुद्दाको फर्छ्यौट गरेको जनाएको छ ।

उच्च अदालत जनकपुरले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उच्च अदालतका रजिस्ट्रार खङ्गराज अधिकारीले वार्षिक फर्छ्यौटको लक्ष्य २ हजार ९ सय ५८ तोकेकोमा कोरोनाका कारणले ५ सय ९८ वटा मात्र माघ मसान्तसम्म पुरा भएको बताउनुभयो ।

विगतका सरिआएको मुद्दाको सङ्ख्या १ हजार ६ सय ८२ गरेर र वार्षिक लक्ष्य २ हजार ५ सय ५१ गरेर कूल वार्षिक अनुमानित लक्ष्य ४ हजार २ सय ३३ रहेको अधिकारीले जानकारी दिनु भयो । धेरै मुद्दाको चाँप भए पनि जनशक्तिको अभाव भएका कारणले मुद्दा फर्छ्यौट हुन नसकेको उहाँले बताउनुभयो ।

उच्च अदालतले सार्वजनिक सरोकारका विषयमा गरेको कामकाजका बारेमा जानकारी दिँदै अदालतको सुधार सम्बन्धी चौथो योजनाले लिएको लक्ष्य अनुसार विभिन्न सुधारको कार्यक्रमहरू गरेको बताउँदै रजिस्ट्रार अधिकारीले गरिब तथा विपन्नका लागि कानुनी रक्षा गर्नका निःशुल्क कानुन व्यवसायी उपलब्ध गराएको बताउनुभयो ।

उच्च अदालतमा ९६ जनाको दरबन्दी रहे पनि ५६ जना मात्र रहेको र त्यसमा पनि तल्लो दर्जाका कर्मचारीहरू मात्र बढी मात्रामा रहेको रजिस्ट्रार बताउनुभयो । न्याय क्षेत्रको सुधारका लागि हुनु पर्ने कामकाज उच्च अदालतले अगाडि बढाएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button