तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय

जनकपुरधाम । कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रदेश नंं २ को ८ जिल्लामा २७ वटा बालीका लागि जोन कार्यक्रम थप गर्ने निर्णय गरेको छ ।

परियोजनाको कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले परियोजनाको जिल्ला समन्वय इकाईबाट माग भइआएको नयाँ बालीको जोन कार्यक्रम सञ्चालनका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको समितिका सदस्य सचिव समेत रहनुभएका परियोजनाका कार्यान्वयन इकाई धनुषाका प्रमुख यूगलकिशोर तिवारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अहिले प्रदेशको ८ वटा जिल्लाहरूमा सुपर जोन तथा जोन कार्यक्रमहरू गरेर १३ वटा कार्यक्रम सञ्चालनमा रहेको छ । पछिल्लो पटक २७ वटा थप गर्ने निर्णय भएपछि यसले कृषि क्षेत्रको उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।

परम्परागत कृषि प्रणालीमा सुधार गरेर किसानहरूलाई विभिन्न प्रकारको सेवा सुविधाहरू प्रदान गरेर कृषिको बजारीकरणमा पनि जोड दिने उद्देश्यले परियोजनाले सम्बन्धित जिल्लाको सम्भाव्यताको आधारमा कार्यक्रमहरू छनौट गरेर सञ्चालनका लागि केन्द्रमा पठाउने निर्णय भएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।

प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका अध्यक्ष एवं प्रदेश नंं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना कुमारी काफ्ले पाण्डेको अध्यक्षतामा भएको बैठकमा जिल्लाबाट सिफारिस भई आएका जोन कार्यक्रमहरू सञ्चालनका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ ।

जस अनुसार सिराहा जिल्लामा माछा, भैँसी–गाई, तरकारी, सप्तरी जिल्लामा धान, माछा, आलु, धनुषामा आँप, तरकारी दलहन–तेलहन, रौतहटमा माछा, केरा तथा मकै बालीको जोन कार्यक्रम थपका लागि सिफारिस गर्ने निर्णय भएको छ । यसैगरी पर्सा जिल्लामा धान, माछा, गाई भैँसी, गहुँ, बारामा धान, मकै, केरा, तरकारी, महोत्तरीमा धान, आँप, दलहन तथा सर्लाहीमा तरकारी, मकै, माछा र आँपको सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button