तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक गीत सङ्गीतको विकासमा श्रेष्ठको महत्त्वपूर्ण योगदानः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्गीत महर्षि नातिकाजी श्रेष्ठले नेपालको मौलिक गीत सङ्गीतको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको बताउनुभएको छ ।

नातिकाजी श्रेष्ठको ९६ औ जन्म जयन्तीको उपलक्ष्यमा काठमाडौँमा आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई शीतल निवासमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्वर्गीय नातिकाजीले नेपाली आधुनिक गीत सङ्गीतको मौलिक पहिचान स्थापित गर्न समेत महत्त्वपूर्ण योगदान गर्नु भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नातिकाजीसहितका नेपाली सर्जकहरूले सङ्गीतमा विकास गरेको मौलिकताको संरक्षण र विस्तार गर्नु हामी सबै नेपालीको कर्तव्य भएको पनि बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कलाकारहरू राष्ट्रका अमूल्य निधि भएको उल्लेख गगर्नुहुँदै यस क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने कलाकारहरूलाई उच्च महत्त्व दिनु राष्ट्रको हितको विषय भएको पनि बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नातिकाजी विशिष्ट स्रष्टा सम्मान २०७६बाट नोर्बु क्षिरिङ लामालाई सम्मान गर्नुभयो । त्यसै गरी राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय सम्मान, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय सङ्गीत युवा पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय पुरस्कार लगायतका सम्मान र पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत पनि गर्नुभएको थियो ।

कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले नातिकाजी लगायतका स्रष्टाहरूको जीवनसँग सम्बन्धित सामाग्रीहरूको संग्राहलय निर्माणमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, वरिष्ठ सङ्गीतकार प्रेमध्वज प्रधान लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button