तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय बिमा संस्थानको चाबहिल र सूर्यविनायकमा नयाँ शाखा

काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले काठमाडौंको चाबहिलमा १७ औँ र भक्तपुरको सूर्य विनायकमा १८ औँ शाखा सञ्चालनमा ल्याएको छ ।
संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौँ महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डङ्गोल र  संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
चाबहिल शाखाको उद्घाटन गर्दै अध्यक्ष डङ्गोलले चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै सो क्षेत्रमा बिमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गर्नुभयो ।
संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बिमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताउनुभयो । चाबहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रिय कार्यालयसम्म पुगिरहन नपर्ने उहाँले बताउनुभयो ।
संस्थानका प्रशासन कवि पाठकले जीवन बिमामै जेठो कम्पनी संस्थान जीवन बिमा व्यवसायमा जीवन बिमा कोषको आधारमा चौथो र बीमा शुल्क सङ्कलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताउनुभयो । नेपाली बिमा बजारमा आफ्नो हिस्सा क्रमशः बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उहाँको भनाई थियो ।
यस्तै संस्थानको सूर्य विनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलवार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने प्रतिवद्घता व्यक्त गर्नुभयो ।
संस्थानको काठमाडौँको कलङ्कीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिटै कारोबार शुरु हुन लागेको संस्थानले जनाएको छ । यो सँगै संस्थानको उपत्यकाभित्र शाखा सङ्ख्या चार पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button