तपाईँ सुन्दै हुनुहुन्छः

वाग्मती समाचार : एक हजार १६७ ले लिए वैदेशिक रोजगारसम्बन्धी परामर्श

पुरुषोत्तम सुवेदी

वाग्मती । चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि माघसम्म छ महिनाको अवधिमा मकावानपुर जिल्लाबाट राहदानी लिन आउनेमध्ये एक हजार १६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) का अनुसार मकवानपुर जिल्लामा सञ्चालित परियोजनाअन्तर्गत आप्रवासन सेवा केन्द्रमार्फत उनीहरुलाई सुरक्षित वैदेशिक रोजगार परामर्श सेवा प्रदान गरिएको हो ।

चालु वर्षको छ महिनामा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानी बनाउन आउने दुई हजार १५९ मध्ये आप्रवासन सेवा केन्द्रले एक हजार १६७ लाई मात्रै वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा दिनसकेको हो ।

यस्तै सामी परियोजनाअन्तर्गत वैदेशिक रोजगारी गरी फर्किएका रिटन स्वंयसेवकमार्फत जिल्लामा १२९ घरधुरीका दुई हजार ५९ जनालाई व्यक्तिगत भेट गरेर ७६७ लाई वैदेशिक रोजगारीसम्बन्धी सूचना प्रवाह भएको जनाइएको छ । सूचना प्रवाह गर्ने क्रममा स्वेदशमा कागजपत्र छाडेर नगएका १४ जनाले विदेशबाट काजगपत्र मगाएका छन् ।

एकीकृत ग्रामीण विकास सेवा मकवानपुरद्वारा सञ्चालित सामी परियोजना मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरि र बकैया गाउँपालिकामा सञ्चालित छ । सामी परियोजनाका संयोजक अन्जिता थापामगरले चालु वर्षको छ महिनामा ७१ वटा न्यायका लागि निवेदन परेको बताउनुभयो । तीमध्ये ३८ समाधान भएको र दुई मुद्दा बन्द भएको बताउनुभयो । यस्तै वैदेशिक रोजगार विभाग र बीमाबाट आर्थिक सहायत प्राप्त गर्ने नौ जना रहेको संयोजक थापाले जानकारी दिनुभयो । यस्तै सामी परियोजनाले सूचनामा नागरिकको पहुँच पुर्याउनुका साथै सीपमा पहुँच, न्याय, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता पनि प्रदान गर्दै आएको छ ।

विदेशमा भनेजस्तो काम नपाएको, बिचौलियाका कारण रकम फसेको जस्ता धेरै उदाहरण रहेको भन्दै असुरक्षितरूपमा विदेश जानलाई परियोजनाले रोक्नुपर्नेमा एकीकृत ग्रामीण विकास केन्द्र मकवानपुरका अध्यक्ष सीता विष्टले बताउनुभयो ।

सामी परियोजनाले चालु अर्धवार्षिकसम्म हेटौँडा उपमहानगरपालिकासँग सम्झौता भएको रु ५१ लाख ९९ हजारमध्ये ४० प्रतिशत अर्थात् रु २० लाख ५८ हजार खर्च गरेको छ । थाहा नगरसँग सम्झौता भएको रु १७ लाख ९६ हजारमध्ये ३५ प्रतिशत अर्थात् रु छ लाख २० हजार खर्च गरेको छ । मनहरि गाउँपालिकासँग रु १७ लाख ९६ हजारमध्ये ४० प्रतिशत अर्थात् रु सात लाख १४ हजार खर्च भएको छ भने बकैया गाउँपालिकासँग सम्झौता भएको रु १७ लाख ९६ हजारमध्ये ४० प्रतिशत रकम खर्च भएको जनाएको छ ।

महाप्रबन्धक पक्राउ

उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ ।

आफूमाथि हातपात र दुव्र्यवहार भएको भन्दै उद्योगमै कार्यरत एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएपछि मल्ललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

महिला कर्मचारीमाथि महाप्रबन्धक मल्लले दुव्र्यवहार गरेको आरोपमा त्यहाँ कार्यरत कर्मचारी र स्थानीय बासिन्दाले हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् । पक्राउ परेका मल्ललाई कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

झरना साहित्यिक परिवारलाई एक लाख राशिको पुरस्कार

मकवानपुरस्थित झरना साहित्यिक परिवारलाई रु एक लाख राशिको पुरस्कार हेटौँडामा मङ्गलबार आयोजित एक समारोहका बीच समर्पण गरिएको छ । पोखराको हेमराज पहारी स्मृति प्रतिष्ठानले झरना साहित्यिक परिवारलाई रु एक लाखको पुरस्कार हेटौँडामै आएर एक कार्यक्रमबीच समपर्ण गरेको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साहित्य परिवारका अध्यक्ष दीपक गौतमलगायतलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले साहित्यप्रति आफ्नो अत्यन्तै रुचि रहेको बताउनुभयो । साहित्यिक कार्यक्रममा बोल्नभन्दा पनि सुन्नका लागि महत्वपूर्ण हुने उहाँले बताउनुभयो । सम्मानित हुने संस्थालाई बधाई दिँदै उहाँले यस्ता कार्यमा नयाँ पुस्तालाई अगाडि बढाउँदै लैजानुपर्ने बताउनुभयो । हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका प्राज्ञ हरिदेवी कोइराला, अग्रज साहित्यकारलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

राष्ट्रिय दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व

राष्ट्रिय दलित पत्रकार सङ्घ मकवानपुरको मङ्गलबार आयोजित प्रथम जिल्ला भेलाले पत्रकार शुभलक्ष्मी विश्वकर्माको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घका उपाध्यक्षमा रुपक कालिराज, सचिवमा शान्ति सुनार, सहसचिवमा युवराज विश्वकर्मा, कोषाध्यक्षमा पारु प्रियार, सदस्यमा प्रज्वल सुनार, सिभा सुनार, विश्व सुनार र प्रशंसा विश्वकर्मा चयन हुनुभएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घका वाग्मती प्रदेश उपाध्यक्ष कमलकुमार विश्वकर्माको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईँको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार कृष्णराम परियारलगायतको उपस्थिति थियो ।

आजबाट पुरुष तथा महिला भलिबल प्रतियोगिता

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि हेटौँडा उपमहानगरपालिकाव्यापी नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदैछ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २२ गतेसम्म हेटौँडा उपमहानगरपालिकाका वडाबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

विसं २०७२ को विनाशकारी भूकम्पमा परी निधन भएका नेपाली खेलकूद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप प्रतिष्ठानले विगत तीन वर्षदेखि हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

हेटौँडा–४ लोकतान्त्रिक (हुप्र) चौरमा महिलातर्फ १० र पुरुषतर्फ १३ टोलीको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जनाएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः रु ५० हजार र ३० हजार पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही रु दुई हजार ५००, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

कूल रु छ लाख लागतमा सञ्चालन हुने खेलमा हेटौँडा उपमहानगरपालिकाले रु दुई लाख ५० हजार र प्रदेश खेलकूद विकास परिषद्ले रु ३० हजार सहयोग उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरी सङ्कलन गर्ने बताइएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button