तपाईँ सुन्दै हुनुहुन्छः

प्राथमिकतामा परेका सबैलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राथमिकतामा परेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले यही २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा ५५ वर्ष माथिका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गर्नुभयो ।

प्रवक्ता प्रा.डा गौतमले खोप अभियानको पहिलो १० दिन ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र बाँकी १० दिनसम्म ५५ देखि ६४ वर्षका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो ।

भाइरसविरुद्ध सुरक्षा बढाउनका लागि पहिलो खोप लगाएको ८ देखि १२ हप्ताबिच दोस्रो मात्राको खोप लगाउनुपर्ने प्रा. डा गौतमले जानकारी गराउनुभयो ।

यस्तै, आज ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ३ सय ९९ वटा नमुनाको परिक्षण गर्दा ५२ पुरुष र ३५ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ३ सय ८१ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट आज ६२ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार ६ सय ५ पुगेको छ ।

आज कोरोना सङ्क्रमणका कारण मृत्यु हुने २ सय ३३ जनाको सङ्ख्या थप भएको छ । योसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button