तपाईँ सुन्दै हुनुहुन्छः

साइनेक्स अत्यधिक सेवन गर्दा बिरामी 

दोलखा । दोलखाको जिरी नगरपालिकाका दुई बालिकाले मङ्गलवार साइनेक्स नामको रुघाखोकीको औषधी अत्यधिक चक्की सेवन गर्दा बिरामी भएका छन् । उनीहरूलाई जिरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।
जिरी नगरपालिका वडा नम्बर ४ का माधव जिरेलको छोरी १२ बर्षीया दिया जिरेल र वडा नम्बर ५ का फुर्वा शेर्पाको १५ बर्षीया छोरी लेकी शेर्पाले ४६ चक्की साइनेक्स खरिद गरेको देखिएको प्रहरीले जनाएको छ ।
उनीहरूले एक एक पत्ता (१०/१० चक्की) साइनेक्स खाएको बताएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । बाँकी औषधी भने नभेटिएको प्रहरीको भनाई छ ।
अहिले उनीहरूको मेडिकल कलेज जोरपाटी काठमाडौँमा उपचार भई रहेको र अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । के कारणले अत्यधिक औषधि सेवन गरेको भन्ने विषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button