तपाईँ सुन्दै हुनुहुन्छः

सेनाको व्यावसायिकता र लगनशीलताको प्रधानमन्त्रीद्वारा प्रशंसा 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता र लगनशीलताको प्रशंसा गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज ‘पृतनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरूका लागि मार्गदर्शन हुनेमा आफू  विश्वस्त रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बैठकले विगतको गहन समीक्षा सहित नेपाली सेनाको भावी कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रुपमा विकास गर्ने लक्ष्य प्राप्तिका लागि समन्वयात्मक बैठक महत्त्वपूर्ण रहेको बताउनुभयो ।
बलाधिकृत रथी प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, व्यवसायीक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
तीन दिनसम्म चल्ने बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरू तथा पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरू प्रस्तुत हुने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button