तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक ‘बी’ डिभिजन लिगः खुमलटार यूथ क्लबको सहज जित

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार खुमलटार यूथ क्लबले सहज जित निकालेको छ ।

बुधवार भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा मैदान सातदोबाटोमा खुमलटारलाई जित दिलाउन सबिन केसीले दुई गोल गरे । यस्तै आयुस घलानले एक गोल गरे ।

जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटो यूथ क्लबसँग अङ्क बराबरी गरेको छ । खुमलटार ९ खेलमा २२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको सातदोबाटोको पनि २२ अङ्क रहेको छ । ब्वाइज ९ खेलमा १४ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

अर्को खेलमा नयाँ बस्तीले टुसाल यूथ क्लबसँग बराबरीमा चित्त बुझाएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा नयाँ बस्तीले टुसालसँग एक एक गोलको बराबरी खेल्यो । नयाँ बस्तीका लागि विवेक गुरुङले गोल गरे भने टुसालका लागि एलोन राईले गोल गरे । यो बराबरीपछि नयाँ बस्तीको नौ खेलमा १२ अङ्क भएको छ भने टुसालको नौ अङ्क भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button