तपाईँ सुन्दै हुनुहुन्छः

दासढुंगामा ट्रक र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते 

चितवन । नारायणगढ–मुस्लिन सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तनहुँ जिल्ला स्याम्घा नगरपालिका वडा नम्बर ४ का धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिकाका रामकृष्ण भुजेल रहेका छन् । यस्तै घाइते हुनेहरूमा लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका वडा नम्बर ७ का  कार चालक पदम सापकोटा, स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नम्बर ३ का प्रसाद थापा र तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर ६ का जसमान परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपराह्न ४ बजेर २५ मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर २९ मुस्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत दासढुङगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आई रहेको बा२१च ६८५९ नम्बरको कार आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
कारमा सवार चालक सहित ५ जना घाइते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ ल्याउँदै गर्दा २ जनाको बाटोमा नै मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
यसमध्ये सापकोटा र थापाको अवस्था गम्भीर रहेको छ भने परियारको अवस्था मध्यम रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको थापाले बताउनुभयो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button