तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मापदण्डको पालना गरेर मात्र होली पर्व मनाउन मन्त्री ढकालको आग्रह

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले फागु पूर्णिमा (होली पर्व)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले फागु पूर्णिमा होली पर्वका अवसरमा शुभकामना दिनुहुँदै यस्ता पर्वहरूले आपसी सद्भाव र आत्मीयतामा थप वृद्धि गर्न सघाउ पुर्‍याउने बताउनुभएको छ ।

मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डको पालना गरेर मात्र फागु पर्व मनाउन पनि अनुरोध गर्नुभएको छ । उहाँले सत्यको विजयको प्रतीकको रुपमा यो पर्व मनाइने गरेको उल्लेख गर्नुभएको छ ।

मन्त्री ढकालले सन्देशमा भन्नुभएको छ ‘नेपालमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा विशेष उल्लासपूर्वक रङ्गहरूको प्रयोग गरेर मनाइँदै गरेको २०७७ सालको फागु पर्व (होली)को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । सत्यको विजयको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । यो पर्वले आपसी सद्भाव र आत्मीयतामा थप वृद्धि गर्नुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गर्दै कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागु पर्व मनाउन सबैमा अनुरोध गर्दछु ।’ मन्त्री ढकालले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button