तपाईँ सुन्दै हुनुहुन्छः

‘विपद् र चुनौती सामना गर्न एकीकृत र समन्वयात्मक प्रयत्न आवश्यक’

काठमाडौँ । नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम सुरु भएको छ ।
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, उद्देश्यले शिवपुरीस्थित कलेजमा आजदेखि यही चैत्र ३१ गते २ हप्तासम्म सञ्चालित तालीममा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, सुरक्षा निकाय, शैक्षिक संस्था, सञ्चार गृहलगायतबाट २७ जनाको सहभागिता छ ।
तालीमको उद्घाटन गर्नुहुँदै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयात्मक प्रयत्न चाहिने बताउनुभयो ।
उहाँले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रिय सुरक्षा र विकासमा निर्भर  रहने जनाउँदै राष्ट्रिय सुरक्षाविना समृद्धि हासिल गर्न नसकिने बताउनुभयो ।
कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले खुला छलफल र अन्तरक्रियाले राष्ट्रिय सुरक्षालाई अझ समृद्ध बनाउने बताउनुभयो ।
आपसी ज्ञान आदानप्रदान एवं राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न यस किसिमको उच्चस्तरीय तालीमले थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
तालीमले आन्तरिक सुरक्षामा नेपाली सेनाको परिचालनलाई अझ व्यवहारिक रुपमा बुझ्न र सुरक्षा चुनौतीका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणको जटिलतालाई अध्ययन गर्न सघाउ पुग्ने नेपाली सेनाले जनाएको छ ।
नेपाली सेना र सम्बन्धित मन्त्रालयहरुबीचको सहयोगका क्षेत्रहरू पहिचान गर्दै कार्य क्षेत्रमा सहयोग र समन्वयको विकास गर्ने र सैनिक नागरिक सम्बन्धको महत्त्वको बारेमा ज्ञान आदान प्रदान गर्ने तालीमको लक्ष रहेको छ ।
यसै गरी विद्यमान अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिस्थिति र नेपालको भौगोलिक अवस्थितिका कारण सुरक्षा क्षेत्रमा पर्ने असर र विपद् व्यवस्थापन लगायत अन्य राष्ट्रिय महत्त्वका विषयमा ज्ञान आदान प्रदान गर्नु तालीमको लक्ष रहेको छ ।
तालीममा विदेश मामिला विज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाशप्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिनुहुने  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button