तपाईँ सुन्दै हुनुहुन्छः

मेला–महोत्सव तथा भेलाहरू नियन्त्रण गरी कोरोनाको जोखिम कम गर्न आग्रह 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला तथा स्थानीय स्तरमा हुने सबै प्रकारका मेला–महोत्सव तथा भेलाहरू नियन्त्रण गरी कोरोना सङ्क्रमणको जोखिम कम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रामक रोग नियन्त्रण ऐनले दिएको अधिकार प्रयोग गरी सबै प्रकारका भेला तथा सम्मेलनहरू नियन्त्रण गर्न आग्रह गर्नुभयो ।
मन्त्रालयले अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिलाई १० दिन होम क्वारेनटाइनमा राख्न सङ्घ प्रदेश तथा स्थानीय तहले आवश्यक समन्वय गर्ने समेत निर्णय गरेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीन सरकारबाट प्राप्त कोरोना विरुद्धको खोप आवश्यक पूर्वाधार भएका अस्पतालहरूबाट ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिने र त्यसलाई व्यवस्थित गर्न फरक खालको खोप कार्डको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।
यसै गरी मन्त्रालयले काठमाडाँै उपत्यका प्रवेश गर्ने व्यक्तिहरूको बेला–बेलामा रेन्डम टेस्टिङ्को आधारमा कोरोना सङ्क्रमण परीक्षण गर्ने, कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरूलाई तयारी अवस्थामा राख्ने तथा सरकारी प्रयोगशालाहरूमा जनशक्तिको कमी भएमा माग गर्ने निर्णय गरेको छ ।
यस्तै मन्त्रालयले सबै प्रदेशले आफ्नो क्षेत्रमा एस डि यू बेड स्थापना तथा सञ्चालनका सम्बन्धमा भएको प्रगति विवरण अद्यावधिक गरी स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउने, प्रदेशहरूमा आइसोलेसन सेन्टर निर्माणका लागि विनियोजन भएको रकमको खर्च सम्बन्धी अद्यावधिक विवरण मन्त्रालयमा पठाउने तथा रकम नपुग भएमा थप रकम माग गर्ने, सबै पालिकाहरूमा जोखिम क्षेत्र पहिचान गरी एन्टीजेन टेस्टलगायत परीक्षणको सुविधा बढाउने, कोरोना सङ्क्रमणको लक्षणसहित अस्पताल भर्ना भएका व्यक्तिहरूको पिसिआर परीक्षण बढाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।
यसैबीच कोरोना भाइरसबाट आज थप १ सय ६२ जना सङ्क्रमित भएका छन् ।
आज ३ हजार ९ सय १९ वटा नमुनाको परीक्षण गर्दा काठमाडौँ उपत्यकामा ६७ जनासहित देश भरमा थप १ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज काठमाडौँ ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म २ लाख ७७ हजार ३ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।
यस्तै आज थप ५९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको र आज १ हजार ४ सय ९३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button