तपाईँ सुन्दै हुनुहुन्छः

‘डिजिटल फ्रेम वर्क अनुसार दूरसञ्चारको पहुँच बिस्तार गरिने’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तरसम्बन्धी  अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रम सबैको पहुँचमा सूचना र प्रविधिको पहुँच विस्तार गर्न सूचना प्रदायक निकाय र जनप्रतिनिधिहरूसँग छलफल गरी आगामी वर्षको नीति तथा कार्यक्रममा दूरसञ्चार सेवालाई  गुणस्तरीय बनाउने योजना तयार गरिने मन्त्रालयले जनाएको छ ।
आजको अन्तरक्रिया कार्यक्रममा सूचना र प्रविधिको विकास र बिस्तारमा प्रदेश नं १ मा भएका प्रयासको समीक्षा गर्दै सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रबाट निर्वाचित सांसदहरूको सुझाव पनि सङ्कलन गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सातै प्रदेशमा सूचना र प्रविधिको विस्तार र विकासमा भएका पहलहरूको समीक्षा गरी नयाँ योजना तयार गरिने जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरोकारवालाहरूको सुझावका आधारमा मन्त्रालयले आर्थिक वर्ष २०७८/२०७९ मा दूरसञ्चार सम्बन्धी रणनीति बनाउने बताउनुभयो ।
दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विगत तीन वर्ष यता इन्टरनेट विस्तारको काम द्रुत गतिमा अघि बढाइएको र आर्थिक वर्ष २०८१/०८२ सम्ममा थप ९ लाख सेवाग्राहीको घरमा इन्टरनेट सेवा विस्तार गरिने जानकारी दिनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका पुरुषोत्तम खनालले प्रदेश नं. १ मा ग्रामीण दूरसञ्चार सेवा कोष प्रयोग गरी सूचना महामार्ग निर्माणमा अप्टिकल फाइवर बिछ्याउने कामले सोचेभन्दा बढी प्रगति हासिल गरेको बताउनुभयो । उहाँले प्राधिकरणले हरेक स्थानीय तहलाई सूचना केन्द्रका रुपमा विकास गर्ने गरी काम गरिरहेको पनि जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले नेपाल टेलिकमले इन्टरनेट र मोबाइल नेटवर्कमा आउने समस्या हल गर्नुपर्नेमा जोड दिनुभयो ।
May be an image of 4 people, people standing and indoor
प्रतिनिधिसभाका सांसद डा.विजय सुब्बाले  दूर दराजका गाउँहरूमा इन्टरनेटको सेवा विस्तार भए पनि गुणस्तर कायम हुन नसकेको बताउनुभयो ।
त्यस्तै अर्का सांसद यज्ञराज सुनुवारले प्रदेश नं १ को पहाडी जिल्लामा अझै सञ्चारको पहुँच पुग्न नसकेको बताउनुभयो ।
मन्त्रालयले भोलिदेखि निरन्तर सातै प्रदेशमा सूचना प्रविधिका क्षेत्रमा भएका प्रगतिको समीक्षा गरी गर्दै सुझाव सङ्कलन गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button