तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसम्पादनलाई प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडकहरूको आज शिलान्यास गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटार मा आयोजित कार्यक्रममार्फत सडक शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुल ५७ अर्ब १० करोड लागत पर्ने १ सय ६५वटा रणनीतिक सडकहरू ३ वर्ष भित्र सम्पन्न गरिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कार्यक्रम घोषणा गर्ने तर काम पुरा नहुने स्थितिको अन्त्य गर्न कार्य सम्पादनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो  ।
प्रधानमन्त्री ओलीले विकास निमार्ण सबैको साझा सरोकारको विषय भएकाले संसदीय समितिहरूले विकास निमार्ण निर्माणका विषयमा दिने निर्देशन काम रोक्ने भन्दा पनि अनुगमन र छानबिन केन्द्रित हुँदा विकास नरोकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा विकासका पूर्वाधारहरूको निमार्णले गति लिएको बताउनुहुँदै ३ वर्षमा कुल ३ हजार ५ सय १२ किलोमिटर सडक कालोपत्रे, ३ हजार ३ सय किलोमिटर सडक ग्राभेल र १ हजार ६ सय ८६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यामहरुले काठमाडौँमा मेलम्चीको पानी आएको खबरभन्दा पनि कसैले प्रधानमन्त्रीको राजीनामा मागेको विषयलाई खबर बनाएको बताउनुहुँदै सरकारले गरेका विकास निमार्णका कामहरूलाई प्राथमिकता दिन पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको एजेण्डा विकास निमार्ण भएकाले कुनै व्यक्तिहरुको स्वार्थमा संसदीय अङ्कगणित सुरु गर्नभन्दा जनताको माझमा जानु उपयुक्त हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कला, संस्कृति संरक्षण गर्ने कुरामा सरकार सचेत रहेको भन्नुहुँदै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका बहु आयामिक विकासमा गर्नु सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो  ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले पहिले अस्तव्यस्त रहेको सडक निमार्णको कार्यले अहिले गति लिएको बताउनुभयो ।
मन्त्री नेम्बाङले सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको ऐजेण्डालाई साकार पार्न पूर्वाधार क्षेत्रका विकास योजनालाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button