तपाईँ सुन्दै हुनुहुन्छः

चरिकाेटमा रेडियाे नेपालकाे रिले स्टेशन स्थापना (फोटाे फिचर सहित)

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले चरिकोटमा स्थापना भएको रेडियो नेपालको एफएम रिले स्टेशनले पहाडी जिल्लामा रेडियोको पहुँच विस्तारमा उल्लेख्य टेवा पुगेको बताउनुभएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा स्थापित रिले प्रसारण केन्द्रको आज उद्घाटन गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले दोलखामा हुँदै गरेको सञ्चारको विस्तारले त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

मन्त्री गुरुङले दोलखामा राष्ट्रिय समाचार समिति (रासस) को समेत सम्पर्क कार्यालय स्थापना भएको र जिल्लालाई स्मार्ट जिल्ला घोषणा गरिएकाले त्यस क्षेत्रको विकासलाई प्राथमिकताका राखेर काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले देशका हरेक भु–भागमा रेडियो नेपालको पहुँच पुर्‍याउनु पर्ने सरकारको नीति अनुरुप चरिकोटमा एफएम रिलेस्टेशन स्थापना गरिएको र यससँगै रेडियो नेपालको एफएम रिले केन्द्रको सङ्ख्या २४ वटा पुगेको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले आगामी दिनमा सहज प्रसारण पहुँच नरहेका देशका अन्य भुभागमा पनि रेडियो नेपालले एफएम रिलेस्टेशनहरु स्थापना गर्दै प्रसारण पहुँच बिस्तार गर्दै जाने पनि बताउनुभयो ।
रेडियो नेपालका  ईन्जिनियरिंङ तर्पmका निर्देशक कृष्णचन्द्र पौडेलले ५०० वाट क्षमतामा हाल प्रसारण सुरु गरिएको रेडियो नेपालको चरिकोट स्थित एफएम रिले केन्द्रको क्षमता आगामी दिनमा अझ बढाइने बताउनुभयो ।

रेडियो नेपालले चरिकोटमा एफएम रिलेस्टेशन स्थापना गरेपछि १०० मेगाहर्जमा रेडियो नेपालको प्रसारण दोलखा जिल्लाका साथै आसपासका जिल्लाहरू रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सोलुखुम्बु र ओखलढुङ्गाका केही क्षेत्रमा समेत रेडियो नेपालको प्रसारण एफएममा सुन्न सकिने भएको त्यस क्षेत्रको भ्रमणमा रहनुभएका रेडियो नेपालका  मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा दोलखा जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, पत्रकारहरूलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button