तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक । ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र  नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता वैशाख ६, ७ र ८ गते हुने छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो टिम मेलम्चीको आयोजना तथा रेडियो मेलम्चीको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो ।
खेल क्षेत्रमा महिलाहरूलाई प्रोत्साहित गर्ने नगरपालिकाको उद्देश्यअनुसार महिला भलिबल प्रतियोगिताका लागि नगरले सहयोग गरेको मेलम्ची नगर उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने टिमलाई एक लाख रुपियाँ नगद पुरस्कारका साथ कप र मेडल प्रदान गरिने सहआयोजक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । दोस्रोलाई ५० हजार र तेस्रो हुने दुई टिमलाई २५÷२५ हजार पुरस्कार रहेको छ ।
सहभागी खेलाडीहरूलाई आवास तथा खानाको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष आशीष श्रेष्ठले जानकारी दिनुभयो । खेलाडीहरूका लागि ड्रेस तथा खाजाको व्यवस्था भने सम्बन्धित पालिकाले गर्नुपर्ने पनि बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button