तपाईँ सुन्दै हुनुहुन्छः

ललितकला प्रदर्शनीमा ५९६ कलाकृति समावेश

काठमाडौँ । ललितकला क्षेत्रको उत्सवको रुपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी आगामी वैशाख २ गतेबाट शुरु हुन लागेको प्रदर्शनी यसपाली स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

प्र्रदर्शनी सञ्चालनका लागि कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनेको छ । त्यस्तै कार्यकारी समिति र उपसमिति गठन गरेर तयारी तिब्र पारिएको छ । प्रतिष्ठानले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस पटकको प्रदर्शनीमा ४४४ कलाकारका ५९६ कलाकृति समावेश हुने जानकारी दिएको छ । केही कलाकृति छनोटमा नपरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।

यसवर्ष प्रदर्शनीमा प्रदेश १ बाट ३१, प्रदेश २ बाट ६३, वाग्मती प्रदेशबाट २८९, गण्डकी प्रदेशबाट ४०, लुम्बिनी प्रदेशबाट ३३, कर्णाली प्रदेशबाट ९ र सुदुरपश्चिम प्रदेशबाट आठ कलाकारका सिर्जना समावेश गरिएको छ । गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरुपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने प्रदर्शनी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा गरिने जनाइएको छ ।

वैद्य र श्रेष्ठलाई राष्ट्रिय अरनिको सम्मान

प्रतिष्ठानले यसपालि ‘राष्ट्रिय अरनिको प्रज्ञा सम्मान’बाट कलाकारद्वय वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठलाई सम्मान गर्ने भएको छ । उक्त सम्मानको राशी जनही नगद रु एक÷एक लाख रहेको छ ।

यस्तै राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत हस्तकला/शिल्पकला विधातर्फ अनुकुमार केसी, मूर्तिकलातर्फ भाजुरत्न शाक्य र तमबहादुर पुन, परम्परागत चित्रकलातर्फ राजकुमार राना, आधुनिक चित्रकलातर्फ कृष्णप्रकाश शाह, लोककलातर्फ हरेराम यादव र वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ प्रकाश पुनमगरलाई पुरस्कार प्रदान गरिने भएको छ । उहाँहरुको पुरस्कार राशि जनही रु ६० हजार रहेको छ ।

प्रतिष्ठानले जनही नगद रु २५ हजार राशि रहेको विशेष पुरस्कारतर्फ विधागतरुपमा १७ कलाकारको नामसमेत सार्वजनिक गरेको छ । प्राप्त विवरणअनुसार सोही राशि रहेको राष्ट्रिय ललितकला लेखक पुरस्कार नविन्द्रराज भण्डारी र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार दीपक श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रतिष्ठानले प्रदेशगतरुपमा ललितकला प्रादेशिक पुरस्कार पाउने सात कलाकारको नामसमेत घोषणा गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button