तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार राजीनामा दिनुभएको हाे ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्री चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाइसकेको बुधबारदेखि सुरु भएको गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधनका क्रममा जानकारी गराउनुभयाे ।

२०७४ फागुन ४ देखि उहाँहरु मन्त्रीमा हुनुहुन्थ्यो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन् । प्रदेश सरकारमा एमाले बाट मुख्य मन्त्री सहित अन्य ४ जना मन्त्री छन् । मुख्यमन्त्री र माओवादीलाई सभामुखको पद बाँडिएको थियो ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई अहिलेसम्म माओवादी र राजमोको समर्थन छ । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button