तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा पौडेल

तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित हुनुभएको छ ।  बुधवार भएको मतदानमा प्रतिस्पर्धी शेख मोहम्द हनिफ (गोरा मियाँ)लाई ४ भोट अन्तरले पराजित गरी पौडेल अध्यक्षमा विजयी हुनुभएको हो ।
प्रेस चौतारी र प्रेस मञ्चको संयुक्त प्यानलबाट उम्मेदवार बन्नु भएकाका पौडेलले ५७ मत प्राप्त गर्दा प्रेस युनियन र प्रेस सेन्टरका संयुक्त उम्मेदवार मियाँले ५३ मत पाउनुभएको थियो ।
तनहुँ शाखाका कुल ११६ सदस्य मध्ये १११ मत खसेकोमा पौडेल प्यानलबाट एक खुल्ला सदस्यमा विजयी भएको छ भने बाँकी सबै पदमा मियाँको प्यानल विजयी भएका छन् ।
महासङ्घको उपाध्यक्षमा मियाँ प्यानलका धनपति अधिकारी विजयी हुनुभएको छ । अधिकारीले ५६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी समुन्द्र पौडेलले ५२ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा अस्मिता खनाल विजयी हुनुभएको छ । खनालले ७४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सम्झना रसाइलीले ३५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सचिवमा ६६ मत प्राप्त गरी प्रताप राना निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कृष्णचन्द्र न्यौपानेले ४५ मत प्राप्त गर्नुभयो । खुल्ला सहसचिवमा प्रकाश अधिकारीले ६१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी ऋषिकान्त दुवाडीले ४९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सहसचिव समावेशी पदमा मिला कुमारी दरै विजयी हुनुभयो । उहाँले ६६ मत पाउँदा प्रतिस्पर्धी सुनिता आचार्यले ४४ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा विमला दुवाडीले ५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने मदन तिमल्सेनाले ५२ मत प्राप्त गर्नुभयो ।
खुल्ला सदस्यमा श्रीहरी पौडेलले ७६, उपेन्द्र खनालले ७१, प्रकृति खनालले ७०, विष्णु गौतम ६३, विकास खनाल ६२, राजेश्वर हड्डखलेले ५८, किरण श्रेष्ठले ५७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
यस्तै, महिला सदस्यमा सुनिता थापाले ६२ मत ल्याएर विजयी हुनुभयो भने प्रतिस्पर्धी विन्दु वाग्लेले ४६ मत प्राप्त गर्नुभयो । जनजाति सदस्यमा सृजना राना ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी राजकुमार श्रेष्ठ विविले ४४ मत पाउनुभयो ।
दलित सदस्यमा मुना कालिराज वि.के ६३ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रतिस्पर्धी अशोक विश्वकर्माले ४४ मत पाउनुभयो । समावेशी अन्य सदस्यमा रामशरण नेपाली निर्विरोध निर्वाचित हुनुभएको थियो ।
बुधवार केन्द्र, प्रदेश तथा जिल्ला समितिहरूको नयाँ नेतृत्वका लागि एकै पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान भएको थियो । यसअघि फरक–फरक समयमा निर्वाचन हुने गरेको थियो ।
महासङ्घ तनहुँ शाखामा २९ पदका लागि ४८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।  पदाधिकारी तथा सदस्य १८, केन्द्रीय परिषद् सदस्य तीन र गण्डकी प्रदेश परिषद् सदस्य ८ जनाका लागि चुनाव भएको थियो ।
जसमा प्रदेश परिषद् सदस्यमा रबिना ढकाल, राजीवलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, पूर्ण बहादुर विके, रामबहादुर घले परियार केन्द्रिय परिषद्को सदस्य र अन्य समावेशी सदस्यमा रामशरण नेपाली निर्विरोध चयन हुनुभएको थियो ।
केन्द्रीय परिषद् सदस्यमा महिलातर्फ अञ्जना तिमिल्सिना र बसन्ती बास्तोला, समावेशीमा रामबहादुर घले, ओमकार आचार्य र मनोरथ शर्माको उम्मेदवारी परेको छ । प्रदेश परिषद् सदस्यका लागि ईश्वरीप्रसाद ढकाल, दिवस तिवारी, पूर्णबहादुर विके, मदन वाग्ले, रघुनाथ पौडेल, रमेश विकल, रविना ढकाल, राजकुमार श्रेष्ठ, राजीवलाल श्रेष्ठ र शङ्करराज नहर्कीको उम्मेदवारी परेको छ ।
तनहुँबाट विपुल पोखरेललाई ६२, निर्मला शर्मालाई ४७ र गजेन्द्र बुढाथोकीलाई १ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button