तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडौँ । विभागीय टिम एपीएफ क्लब अपराजित रहँदै पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो ।
टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन जोडन सफल भइन् । कप्तान नेरी थापाले अविजित २७ रन जोड्दा सरस्वती मगरले अविजित रहँदै २१ रनको योगदान गरिन् भने  नितु भण्डारीले १७ रन बनाइन ।
एपीएफकी बिनु बुढा र रेखा रावलले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाउन सफल रह्यो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन् । कप्तान सिता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन बनाइन । लुम्बिनीका स्वतिका बजगाईँ र कृतिका मरासिनीले २/२ विकेट लिए ।
यस जितसँगै एपीएफले ४ खेलमा शतप्रतिशत जितसहित ८ अङ्क जोड्यो । लुम्बिनीले ४ खेलमा कुनै पनि अङ्क जोड्न नसकेपछि अङ्क विहीन रह्नुपर्यो ।
अब एपीएफले उपाधिका लागि सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । सुदूरपश्चिम ६ अङ्क जोडेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । एपीएफ र सुदूरपश्चिमबीचको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार र  उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्स वुमनले १५/१५ हजार पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button