तपाईँ सुन्दै हुनुहुन्छः

दीर्घकालीन विकासको लक्ष्यसहित अघि बढ्ने निजी क्षेत्रको घोषणा 

काठमाडौँ । नेपालको निजी क्षेत्रले पहिलो पटक दीर्घकालीन विकासको लक्ष्यसहित अघि बढ्ने घोषणा गरेको छ ।
नेपाली निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्‍याउने लक्ष्यसहित राष्ट्रिय विकास लक्ष्य २०३० शनिवार काठमाडौँमा सार्वजनिक गरेको हो ।
महासङ्घले अघि सारेको भिजन पेपरमा नेपालमा उद्योग लगायतका विभिन्न क्षेत्रमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पनासहित एक सय वटा योजनाहरू  अघि सारिएको छ  ।
शनिबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को ५५ औँ वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय विकास लक्ष्य २०३० भिजन पेपर सार्वजनिक गर्नुभएको हो ।
महासङ्घको वर्तमान नेतृत्वले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार गरेको हो ।
भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अं कमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको पुर्‍याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
महासङ्घले अगाडि सारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० पुस्तक (भिजन पेपर) मा सय वटा योजनासहितको विकास लक्ष्य तयार पारिएको छ ।
भिजन पेपरमा समावेश भएका योजनाहरू दुई वर्षभित्र सकिने र दीर्घकालीन रुपमा महत्त्व भएका योजनाहरु समेत समावेश गरेको र यसका लक्ष्य प्राप्तिका लागि सरकारका विभिन्न निकायसँग मिलेर अघि बढ्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बताउनुभयो । भिजन पेपरको कार्यान्वयनमा महासङ्घले नेपाल सरकारको प्रतिबद्धता समेत लिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button