तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिक हाइटेक नर्सरी : कृषकलाई तरकारीको बिरुवा उत्पादनमा सहज

धनकुटा । धनकुटा नगरपालिका वडा नं लामा टोलमा आधुनिक हाइटेक नर्सरी फामिर्ङ निमार्णपछि  कृषकलाई बेमौसमी तरकारी बालीको बिरुवा उत्पादन  गर्न सहज भएको छ ।

कृषकको जीवनस्तर सुधारका लागि धनकुटा नगरपालिका, युएनडिपी र पर्डेप नेपालको संयुक्त कार्यक्रम “कोभिड–१९ रेस्पोन्स तथा सोसियो इकोनोमिक रिकोभरी ” कार्यक्रम अन्तर्गत  १० लाख १३ हजार ९ सय १९ रुपैयाँको आर्थिक सहयोगमा  आधुनिक हाइटेक नर्सरी फामिर्ङ निमार्ण गरेको हो ।

धनकुटा नगरपालिकाले “कोभिड– १९ का कारण प्रभावित कृषकको जीवनस्तर सुधारका लागि सञ्चालन गरेको कोभिड–१९ रेस्पोन्स तथा सोसियो इकोनोमिक रिकोभरी “कार्यक्रम अन्तर्गत प्राप्त आर्थिक सहयोगबाट निर्माण गरिएको हाईटेक नर्सरी फार्मिङ भित्र बेमौसमी तरकारी बालिका खुर्सानी, वन्दागोभी, काउली, गोलभेँडा , करेला लगायत विभिन्न जातका १२ हजारभन्दा बढी बिरुवा भिरगाँउ लामा टोलका ५२ घरधुरी कृषकले सामूहिक रुपमा उत्पादन गरेका छन् ।

आधुनिक हाइटेक नर्सरी फामिर्ङ निमार्ण भएसँगै अहिले लामा टोलका ५२ घरधुरी कृषकको परम्परागत रुपमा बाँस र प्लास्टिकको बोरा बाँधेर नर्सरी तथा तरकारी बालीको ब्याड राख्ने झन्झट हटेको कृषक रमेश तामाङले बताउनुभयो ।

उहाँका अनुसार यसभन्दा पहिले परम्परागत नर्सरीमा १० ग्राम बिउको ब्याड राख्दा दुखले ५ ग्राम उम्रने गर्दथ्यो भने अहिले नयाँ प्रविधिमा स्थापना गरिएको हाईटेक नर्सरीमा त्यस्तो समस्या हटेको बताउनुभयो ।

त्यस्तै गरी  यो वर्ष स्वस्थ बिरुवा उत्पादन गर्न सफल भएकाले तरकारी बाली उत्पादन गत सालको तुलनामा वृद्धि हुने  भिरगाँउ लामा टोलका कृषकहरूको बताएका छन् ।

यसैबिच धनकुटा नगरपालिकाले एक कार्यक्रमको बिच हाईटेक नर्सरीको आज अनुगमन गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा , योजना प्रमुख सिताराम गौतम  , वातावरण शाखा प्रमुख उपेन्द्र पोखरेल र पर्डेप नेपाल धनकुटाका कार्यक्रम संयोजक मीन प्रसाद सुवेदी लगायतको टोलीले गरेको अनुगमनमा नर्सरी प्रभावकारी भएको पाइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button