तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ को प्रदेश सभा बैठक भोलि बस्दै

जनकपुरधाम । प्रदेश नंं २ को प्रदेश सभाको पाँचौँ अधिवेशन भोलिबाट शुरु हुन लागेको छ ।
करिब ६ महिनापछि भोलि दिउँसो १ बजेका लागि अधिवेशनको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।
वैशाख ३ गते प्रदेश सभाको बैठक नबसेको ६ महिना पुग्ने र कानुनी व्यवस्था अनुसार दुई वटा अधिवेशन बीचको भिन्नता ६ महिना भन्दा बढी हुन नहुने भएकाले बस्न थालेको सचिव यादवले जानकारी दिनुभयो ।
चौथो अधिवेशन कार्तिक ४ गते सकिएको थियो । पाँचौँ अधिवेशनको बैठकका लागि प्रदेश सभाको सरसफाइ तथा अन्य व्यवस्थापनको काम सकिएको सचिव यादवले जानकारी दिनुभयो ।
प्रदेशको नाउँ तथा राजधानीको विषयमा सहमति नभएको र तत्कालीन राष्ट्रिय जनता पार्टी तथा सङ्घीय समाजवादी पार्टीका बीचमा एकता भएपछि संसदीय दलको नेतासम्बन्धी विवाद आउने भएकाले बैठक बस्नमा ढिलाइ भएको प्रदेश सभाका सदस्यहरूले बताउनुभयो ।
अहिले दुवै पार्टी एक भए पनि दुई जना संसदीय दलका नेता, प्रमुख सचेत सहितका पदमा रहनुभएको छ । नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको समितिको बैठक अन्योलमा परेका कारणले पनि अधिवेशन हुनमा ढिलाइ भएको बताइएको छ ।
पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूची तय भएको सचिव यादवले जानकारी दिनुभयो ।
पहिलो दिनको बैठकपछि अन्य विषयहरूमा दलहरूसँग परामर्श गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । अधिवेशन विधेयक अधिवेशन हुनुपर्नेमा अहिले बजेट आउने समय भएकाले बजेट अधिवेशनको रुपमा पनि बुझ्न थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button