तपाईँ सुन्दै हुनुहुन्छः

खरका छाना विस्थापित गर्न ५ सय ७२ घरपरिवारलाई टिन वितरण गरिँदै   

घोराही । बबई गाउँपालिका वडा नम्बर २ भरतपुर निवासी अपाङ्गता भएका तुलबहादुर खत्रीको घर खरले छाएको छ । खरले छाएको घरमा निकै जोखिम हुने भएपछि समस्या रहनुभएका खत्रीलाई अब त्यस्तो नहुने भएको छ ।

यस्तै बबई गाउँपालिका–६ सुनपुरका लिले दमाईको सपना पनि यसै बर्ष पूरा भएको छ । खरको छाना भएको घरमा बस्दै आएका लिलेको सपनालाई गाउँपालिकाले टिन दिएपछि पूरा भएको हो ।

तुलबहादुर खत्री र लिले दमाईले जस्तै यो बर्ष बबई गाउँपालिकामा ५ सय ७२ परिवारका घरमा टिनका छाना टल्किने भएका छन् । खरका छाना भएका तर, बबई सरकारले टिन वितरण गर्ने भएपछि खत्री जस्तै ५ सय ७२ परिवारलाई सहज हुने भएको छ ।

बबई गाउँपालिकाले चालु आर्थिक वर्षमा ५सय ७२ परिवारलाई टिन वितरण गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभएको छ ।

चालु आर्थिक वर्षमा २ सय ३५ परिवारका लागि टिन, २ सय४१ घर परिवारलाई टिन खरिदका लागि ५० हजारका दरले प्रति परिवारलाई रकम उपलब्ध गराउने तयारी गरिएको छ ।

यस्तै ९६ घर परिवार भने बाढी पीडित रहेको भन्दै उनीहरूका लागि पनि टिन वितरणको कार्यक्रम रहेको छ ।

सङ्घीय सरकारको सहयोगमा स्थानीय पालिका सरकारले खरका छाना भएका जनताका घरमा अब टिन टल्किने छन् । घर निर्माण र मर्मतको समयलाई ध्यानमा राखेर टिन वितरण गर्ने कार्य सुरु भएको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

टिन प्राप्त गरेपछि तुलबहादुर खत्रीले सरकारलाई धन्यावाद दिनुभयो । हामीले घरमा टिन लगाएको सपना मात्रै देखेका थियौँ अहिले सरकारले पूरा गरेको छ—खत्रीले भन्नुभयो हाम्रा पनि दैव रहिछन् । लिले दमाईले पनि गरिब, दुखीलाई हेर्ने सरकार भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

स्थानीय स्तरमा हुने आगलागीले बर्षौसम्म समस्यामा रहेका जनतालाई राहत मिलेको छ । यस्तो कार्यप्रति स्थानीय समेत खुसी भएका छन् । टिन किन्न नसक्नेका लागि खुसीको कुरा रहेको भन्दै लिले दमाईले यस्ता कार्य निरन्तर जारी राख्नुपर्ने बताउनुभयो ।

आगलागी र अन्य विपद्का घटनाहरू हुने भएपछि सरकारले खरका छाना भएका परिवारका लागि टिन वितरण गर्ने लक्ष्य राखेको छ ।

जङ्गलको नजिक रहेका बस्ती र केटाकेटीका कारण डढेलोको समस्या सहनुका साथै वर्षौँदेखि लाखौँको धनजनको नोक्सान हुने भएपछि सङ्घीय, प्रदेश र स्थानीय सरकारले यस्तो योजना अघि सारेका हुन् ।

आर्थिक अवस्थाका आधारमा वडा कार्यालय मार्फत घर परिवारको छनौट गरी टिन वितरण गर्ने कार्य अहिले जारी राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button