तपाईँ सुन्दै हुनुहुन्छः

अछामका विभिन्न विद्यालयमा सेनिटरी प्याडको व्यवस्था

अछाम । अछामका विभिन्न विद्यालयमा किशोरीलाई सेनिटरी प्याड वितरणको कार्य शुरु भइरहेको छ । विद्यालयका किशोरी महिनावारी हुँदा व्यवस्थापनमा सहज होस् भनेर नेपाल सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेटमै व्यवस्था गरेको सेनिटरी प्याड वितरणको कार्य अछाम जिल्लाका सामुदायिक विद्यालयमा समेत शुरु गरिएको हो ।

कतिपय विद्यालयमा महिनावारी समूहका किशोरीलाई सिधै प्याड वितरण गर्ने गरिएको छ भने कतिपय विद्यालयमा मेसिन जडान गरी प्याड वितरण कार्य भइरहेको छ । सोही अन्तर्गत जिल्लाको नेपाल राष्ट्रिय मावि चाफामाण्डौमा मेशिन जडान गरी प्याड वितरण कार्य सुरुवात गरिएको छ । रामारोशन गाउँपालिका वडा नम्बर २ मा रहेको नेरा माविले भेन्टिङ मेसिन जडान गरेको हो ।

रामारोशन गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालयमा मेशिन जडान गरी प्रयोगमा ल्याइएको प्रधानाध्यापक मनोज रावलले बताउनुभएको छ ।

मेशिन जडान गरेपछि महिनावारीको समयमा महिला शिक्षिका एवम् छात्राहरूले सहजै रूपमा सेनिटरी प्याड प्राप्त गरी प्रयोग गर्न सहज हुने प्रधानाध्यापक रावलले बताउनुभयो ।

मेशिन जडान पश्चात् महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने दर रोकिने विश्वास लिइएको छ । मेशिन जडान भएपछि विद्यालयका शिक्षिका र छात्रा खुसी भएका छन् ।

जिल्लाका सबै स्थानीय तहले यो कार्य शुरु गरे पनि कतिपय विद्यालयमा प्रभावकारिता नदेखिएको पाइएको छ । समयमै प्याड मगाई आवश्यक परेको बेला नै किशोरीले पाउने गरी व्यवस्थापन गर्नुपर्ने सरोकारलाले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button