तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय यु–१६ क्रिकेटको उपाधि रुपन्देहीलाई

भैरहवा । लुम्बिनी प्रदेशस्तरीय बलियो नेपाल टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले चुमेको छ ।
फाइनल खेलमा दाङलाई ६५ रनले हराउँदै रुपन्देहीले उपाधि हात पारेको हो । दाङले भने उपविजेतामै चित्त बुझायो । सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ३ विकेटको क्षतिमा १५४ रनको योगफल बनाएको थियो । उसका लागि आशिष रोकाले सर्वाधिक ४४ रनको योगदान गरे । ३२ बलको सामना गरेका उनले दुई छक्का र एक चौका प्रहार गरे । यस्तै, ४२ बलमा विशाल भुसालले ५ चौकाको मद्दतमा ४१, सन्तोष साउदले २५ र प्रकाश गिरीले २१ रन बनाए । बलिङमा दाङका आयुष ओली, सुमन बसौंदी र मनोज पुनले समान १-१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको दाङ १७ ओभर २ बलमा सबै विकेट गुमाएर ८९ रनमै सीमित रह्यो । उसका लागि मनोज पुनले ३९, प्रभाकर कुँवरले १६ र रोहित डाँगीले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । उसलाई सस्तैमा रोक्न ३ ओभर बलिङ गरेका रुपन्देहीका सन्तोष यादवले एक मेर्डन राख्दै १२ रन खर्चेर ३ विकेट लिए । उनी म्यान अफ द फाइनल भए । यस्तै, सुमित पराजुली र अमर मिश्राले २–२ तथा सुरज खड्का र सेजाद आलमले समान १–१ विकेट लिए ।
प्रतियोगितामा उपाधि विजेता रुपन्देही र उपविजेता दाङलाई लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्याय, पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचन, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य धर्मराज गिरी लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा १३७ रन र ६ विकेट लिएका दाङका आशिष ओली म्यान अफ द सिरिज भए । १३५ रन बनाएका रुपन्देहीका प्रकाश गिरी वेस्ट ब्याट्सम्यान भए भने १३ विकेट लिएका रुपन्देहीकै सन्तोष यादव वेस्ट बलर भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button