तपाईँ सुन्दै हुनुहुन्छः

पाँच करोड लगानीमा भद्रपुर विमानस्थलमा हवाई इन्धनको डिपो राखिने

भद्रपुर, झापा।हवाई सेवालाई थप सहज र सुरक्षित बनाउन झापाको भद्रपुर विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना हुने भएको छ ।
डिपो स्थापनाका लागि नेपाल आलय निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भइसकेको छ ।

नेपाल आलय निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको छ भने सो जग्गामा पाँच करोड रुपैयाँको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने छ ।
निगमका प्रमुख न्यौपानेले डिपोका लागि चाहिने ब्राउजरको व्यवस्थासमेत गरिसकिएको जानकारी दिनुभयो । विमानस्थलमा डिपो निर्माणसँगै छ देखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने छ ।

भद्रपुर विमानस्थलका लागि चाहिने हवाई इन्धन भारतको सिलगुढीबाट खरिद गरी सीधै विराटनगर पुर्‍याइने र गुणस्तर जाँचपछि मात्र भद्रपुर विमानस्थलमा ल्याउने गरिएको छ । डिपोको संरचना निर्माणपछि त्यो बाध्यता हट्ने न्यौपानेले बताउनुभयो । हाल विमानस्थलकै एउटा कोठा भाडामा लिएर निगमले अस्थायी रूपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएको छ ।

दैनिक चन्द्रगढी विमानस्थलबाट नौ वटा उडान हुँदै आएको छ । त्यसमा पाँच वटा बुद्ध एयर, दुई वटा यती एयर, एउटा श्री र एउटा सौर्य विमानले भद्रपुरबाट काठमाडौँ उडान भरिरहेको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button