तपाईँ सुन्दै हुनुहुन्छः

शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

फाइल तस्बिर

काठमाडौँ। मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि शुरु भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो ।

पूजा सम्पन्न गरी आइतबार बिहान ७ बजेदेखि बज्रेश्वरी जात्रा शुरु गरिएको थियो । बज्रेश्वरी अर्थात् पिङगलास्थानको जात्रा आइतबार बेलुकीसम्म मनाइएको छ । बज्रेश्वरी जात्रा समापन हुने वित्तिकै वत्सलेश्वरीको जात्रा शुरु भएको हो । वत्सलेश्वरी जात्रा भने आइतबारदेखि तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन अर्थात् मङ्गलबार सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।

देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्ष रुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्ष रुपमा सहभागी हुने गरेको उहाँले सुनाउनुभयो । वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ ।
भगवान् शिवको पत्नीका रुपमा पुजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किम्बदन्तीका आधारमा आज नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन आज बेलुकी रथले पशुपतिको मूलढोकामा तीन पटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् आज राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार आज वत्सलेश्वरीको रथ तानेर चावहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिन्छ ।

त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि १० दिन लामो जात्रा भोलि सकिन्छ । प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् ।

आइतबार राति जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राखिएको थियो । आज दिउँसो सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ । सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने प्रचलन छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button