तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश भित्रका ताललाई सौन्दर्यीकरण गर्दै गण्डकी प्रदेश सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले १८ वटा तालमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको कामलाई अगाडि बढाएको छ ।

चालु आर्थिक वर्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत १८ वटा तालमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको कामलाई अगाडि बढाइएको हो ।

गण्डकी प्रदेशका ११ जिल्लाहरूमध्ये यो आर्थिक वर्षमा ९ जिल्लाका विभिन्न ठाउँमा रहेका ताल⁄पोखरीहरूको संरक्षण तथा मर्मत सम्भारको कार्यलाई अगाडि बढाइएको हो ।

प्रदेश सरकारले फेवाताल, टडुवा ताल, बाघे खोला ताल, बाह्र पोखरी तथा ताल, मेमे पोखरी, दुधपोखरी ताल, ठूलीदह, साना दह, हरी पोखरी मर्मत, गाँजाको दह, ठुली पोखरी ताल, बराह ताल, ढवाह ताल, कफुचे हिमताल, ताल पोखरी, काश्यप पोखरी, राम्जा ठूलीपोखरी, सुन पोखरी, इलम पोखरी लगायतका तालहरूमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम अगाडि बढाइएको हो ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा बेगनास, खास्टे, मैदी, दिपागं लगायतका तालमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम गरेको थियो ।

प्रदेश भित्रका बाकी अन्य तालहरूमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम अगामी आर्थिक वर्षमा गर्ने तयारी गरिएको छ ।

गण्डकी प्रदेश आफैँमा पर्यटकीय प्रदेश भएको र सिमसार क्षेत्र यस प्रदेशको पर्यटन विकासको मेरुदण्डको रुपमा रहेकाले यस प्रदेशका ताल (सिमसार) क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको काम प्रदेश सरकारले अगाडी बढाएको हो ।

हाल विश्वभरका पर्यटकहरूमध्ये आधाले (सिमसार क्षेत्र) तालको भ्रमण गर्ने गरेका छन् । पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको प्रदेश सरकारले गण्डकी प्रदेश भित्रका सबै तालहरूको संरक्षण तथा विकासका लागि ताल संरक्षण तथा विकास प्राधिकरण नै गठन गरेको छ ।

ताल प्राधिकरणले यो आर्थिक वर्षमा १८ वटा तालको विकास तथा सौन्दर्यीकरणको काम सम्पन्न गर्नको लागि योजनाबद्ध रुपमा लागिरहेको ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनुप गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती तालहरूमा फुट ट्रेल, रेलिङ, ताल आसपासमा दुवो सहितको बगैँचा, तालको संरक्षणका लागि रिटेनिङवाल, पानीको गुणस्तर, सिल्टेसन नियन्त्रण सम्बन्धीको काम, पानीको मुहानहरूमा नियमित पानी भण्डारणको लागि आवश्यक पानी रिचार्ज गर्ने लगायतका कामहरू अहिले भइरहेका छन् ।

प्रदेशमा अवस्थित ताल र ताल जलाधार क्षेत्रको संरक्षण, पुनर्स्थापना र प्रभावकारी व्यवस्थापन गरी जैविक विविधता र वातावरण संरक्षण गर्ने, ताल क्षेत्रको नक्साङ्कन गर्ने, अतिक्रमण हटाउने तथा रोक्ने, तालजन्य स्रोतहरूको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोग गरी त्यस्ता स्रोतमा आश्रित समुदायको समृद्धिमा टेवा पुर्‍याउने, तालको दिगो व्यवस्थापन, पर्यापर्यटन तथा जल पर्यटन प्रवर्द्धन गर्ने कामलाई पनि प्रदेश सरकारले अगाडी बढाएको छ ।

प्रदेशका सबै ताल तथा हिमतालहरूलाई भौगोलिक सूचना प्रणाली रिमोट सेन्सिडद्धारा डिजिटाइज र फिल्ड प्रमाणीकरण गर्ने, राउण्ड फेवाताल पदमार्ग, गण्डकी प्रदेशका सबै तालको अभिलेखीकरण गर्ने, गण्डकी प्रदेशका स्थानीय ताल समिति र व्यवसायीसँग तालको संरक्षण र प्रवर्द्धन जस्ता कार्यक्रमहरू कार्यान्वयनको चरणमा समेत रहेका छन् ।

विश्वमा हाल हरेक बर्ष २६ करोड ६० लाख मानिसलाई सिमसार क्षेत्रले रोजगारी दिइरहेको पाइन्छ । तालको उचित संरक्षण हुनसकेमा दिगो पर्यटकको माध्यमबाट स्थानीय उपभोक्ताहरूको जीविकोपार्जनमा टेवा पुग्ने तथा सम्पूर्ण ताल तथा पोखरीहरू प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले अति महत्त्वपूर्ण रहेको पाइएको हुँदा ताल तथा पोखरीहरुकोे संरक्षण गर्नु अति आवश्यक रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो ।

सिमसार क्षेत्रले सिँचाई, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्‍याउनेलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button