तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छल्ने तिरुपति ग्लास कम्पनीलाई ५ सय प्रतिशत जरिवाना

sirsiya

वीरगञ्ज । कम भन्सार मूल्याङ्कन गरी परिणाम समेत ढाँटेर सिसा आयात गर्ने तिरुपति ग्लास कम्पनीलाई सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया वीरगन्जले राजस्व छली गर्न खोजेको आरोपमा ५ सय प्रतिशत बढी जरिवाना गरेको छ ।

कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि तिरुपति ग्लासलाई ६ करोड ५३ लाख रुपैयाँ जरिबाना गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालय र्सिसिया वीरगन्जका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।
भन्सार छल्ने नियतका साथ घोषणा गरिए भन्दा धेरै परिमाणमा सामान आयात गरेको हुँदा तिरुपति ग्लास कम्पनीलाई भन्सार ऐनअनुसार पाँच सय प्रतिशत जरिवाना गरिएको खत्रीले बताउनुभयो ।
वीरगन्जका रबी अग्रवालले तिरुपति ग्लास उद्योगको नाममा आयात गरेको उक्त टफन सिसाको प्रकार र परिमाण भन्सार घोषणामा झुक्याउन खोजिएको सिर्सिया भन्सार कार्यालयले जनाएको छ ।
भन्सार घोषणामा चार एमएम भनिएको ग्लास छड्के जाँचको क्रममा पाँच एमएमको भेटिएको थियो भने घोषणामा ११ हजार १६ स्क्वायर मिटर भनिएको सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको थियो ।
यस अघि गत चैत्र १० गते बालाजी ग्लास प्रा.लि.ले समेत कम भन्सार मूल्याङ्कन गरी परिमाण समेत ढाँटेर सिसा आयात गरेको भेटिएपछि सिर्सिया भन्सारले ५ सय प्रतिशत जरिवाना गरेको थियो ।
बालाजी ग्लासकै घटनाको अनुसन्धानको क्रममा तिरुपति ग्लास कम्पनी समेत छानबिनको दायरामा परेको थियो । भन्सार जाँच पास भएर १९ लाख २२ हजार राजश्व समेत तिरिसकेको अवस्थामा भन्सारले शङ्का लागि पुनः तिरुपतिको माल वस्तु जाँच गर्दा राजस्व छली गर्न खोजेको प्रमाणित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button