तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटका अनुसार हालसम्म ३८ सामुदायिक वन र तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । अधिकांश सामुदायिक र राष्ट्रिय वन डढेलोले सखाप पारेको छ ।
निमित्त डिभिजन प्रमुख चित्रण शर्माका अनुसार डढेलोको कारण वन क्षेत्र यतिवेला उजाड भएको छ । प्रारम्भिक विवरण अनुसार १ हजार करिब २ सय बढी हेक्टर वन क्षेत्रमा आगलागी भएको अनुमान छ गरिएको शर्माले बताउनुभयो । जाजरकोटमा २ सय ९० वटा सामुदायिक वन रहेका छन् ।
आगलागीका कारण छेडागाड नगरपालिकामा १२ वटा, शिवालय गाउँपालिकामा ९ वटा, जुनीचाँदे गाउँपालिकामा ५ वटा, कुशे गाउँपालिकामा १ वटा, भेरी नगरपालिकामा ३, बारेकोट गाउँपालिकामा ३ वटा र नलगाड नगरपालिकामा ५ वटा सामुदायिक वन तथा तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ ।
लामो खडेरीसँगै सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम रोकिएको छैन । दैनिक दर्जन ठाउँमा डढेलो लागिरहेको छ । वनमा जथाभाबी डढेलो नलगाउन आग्रह गर्दा पनि रोक्न नसकेको शर्माको भनाइ छ । स्थानीयले राम्रो घाँस पलाउने भन्दै वनमा डढेलो लगाउने गरेको नलगाड १० का वडा अध्यक्ष भद्र बहादुर ध्यारले बताउनुभयो ।
वनमा लागेको आगलागीका कारण चार दिन अघि नलगाड ८ को मंसिरी गाउँका ५ घर र ९ वटा गोठ जलेका छन् । जलवायु परिवर्तन र लामो समय खडेरी सुक्खा भई धेरै आगलागी हुने गरेको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button