तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा प्यान दर्ता तथा नवीकरण गर्ने बढ्दै

अछाम । अछामको साँफेबगरमा स्थापना भएको करदाता सेवा कार्यालयमा प्यान दर्ता तथा नवीकरण गर्ने सेवाग्राहीको सङ्ख्या बढेको छ।
पहाडी जिल्ला अछाम र बाजुराका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले आन्तरिक राजश्व कार्यालय डडेलधुरा अन्तरगत अछामको साँफेबगरमा गत असोज २२ गते करदाता सेवा कार्यालयको स्थापना गरिएको हो । कार्यालयले गत कात्तिक १७ गतेबाट सेवा सुचारु गरिरहेको छ ।
सेवा सञ्चालन भएपछि हालसम्म १३ सय बढीले प्यान नम्बर लिइसकेका सेवा कार्यालयका कर अधिकृत धर्म रोकायाले जानकारी दिनुभयो । जसमध्ये व्यावसायिक प्यान ७ सय बढी रहेको कार्यालयले जनाएको छ । सरकारी कार्यालयले समेत प्यान नम्बर लिनुपर्ने र त्यो सङ्ख्या अहिले २८ रहेको कर अधिकृत रोकायाको भनाइ छ ।
अछाम जिल्लामा सेवा कार्यालय स्थापना नहुनु भन्दा पहिले अछाम र बाजुराका व्यापारीहरूले व्यवसाय दर्ता प्रमाण(पत्र लिन र कर तिर्नको लागि आन्तरिक राजश्व कार्यालय धनगढी जानु पर्ने बाध्यता रहेकोमा अहिले त्यो हटेको छ ।
लामो कष्टकर यात्रा सँगै महँगो शुल्क तिरेर तीन चार दिनको समय खर्चिनु पर्ने बाध्यता पनि साँफेबगरमा सेवा कार्यालय स्थापना भएसँगै हटेको छ ।
अहिले अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा करदाता सेवा कार्यालय स्थापना भए पछि व्यापारीहरूले व्यवसायीक कारोबार सञ्चालन गर्नको लागि प्यान दर्ता प्रमाण–पत्र लिन, कारोबार थप गर्न र कर तिर्ने सेवा अछामबाटै सहज रुपमा छिटो छरितो सुविधा पाए पछि खुसी देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button