तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौँ । विश्व बैङ्कले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतले  हुने प्रक्षेपण गरेको छ ।

पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा विश्व बैङ्कको पछिल्लो नेपाल विकास अपडेट प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोभिड–१९ पश्चात्को पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्छ, विश्व बैङ्कको पछिल्लो नेपाल विकास अपडेटले औँल्याएको छ ।
प्रतिवेदनले कोभिड–१९ पछिको पर्यटन बजारसँग सामञ्जस्य हुने गरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुर्नउत्थान पूर्ण रुपमा हुन नसक्ने, आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषण गरिएको छ ।
आर्थिक वर्ष २०७८–२०७९ मा चालु खाता घाटा घट्न गई कूल ग्राहस्थ उत्पादनको १.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने राजश्व सङ्कलन लक्ष्य अनुसार हुन सक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपायहरू, खोप कार्यक्रम र आयोजनाहरू पुनःसन्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चहरूले आर्थिक वर्ष २०७८–२०७९ को वित्तीय घाटा बढाएर सो आर्थिक वर्षको जिडिपीको ७ प्रतिशत नजिक पुर्‍याउने अनुमान समेत गरेको छ ।
सरकारले कोभिड–१९ को प्रभाव र यसका कारण देखा पर्नसक्ने जोखिमलाई सम्बोधन गर्ने कार्यक्रमहरू रेखाङ्कित गरिसकेको अवस्थामा नेपाल विकास अपडेटले उत्थानशील आर्थिक पुनर्लाभका लागि निर्यातको प्रतिस्पर्धी क्षमतामा सुधार ल्याउनु महत्त्वपूर्ण हुने कुरामा जोड दिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले मानिसहरूको जीविकोपार्जनमा कोभिड–१९ महामारीले पारेको असर र विश्वव्यापी प्रभावको बिचमा नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले समावेशी विकासको एजेन्डा मार्फत महाव्याधि पश्चातको पुनर्निर्माणलाई थप उत्तम र वातावरणमैत्री बनाउन नेपाल सरकार विकास साझेदार र निजी क्षेत्रसँग मिलेर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका निर्देशक फारिस हदाद–जर्भोसले कोरोनाको सङ्कटबाट नेपाललाई माथि उठाउन नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न टेवा पुग्ने लगानीका लागि सरकार र विकास साझेदारहरूसँग निरन्तर सहकार्यको लागि विश्व बैक तत्पर रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button