तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि जीतपुरसिमरा गोल्डकप फुटबल सुरु हुने 

बारा । भोलिदेखि बाराको सिमरामा सञ्चालन हुने जीतपुरसिमरा गोल्डकप फुटबलको ११ औँ संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ  ।
मङ्गलवार अर्थात् चैत्र ३१ गतेबाट शुरु हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक नव जनजागृति युवा क्लबले जनाएको छ । सिमरास्थित रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो ।
उक्त फुटबल प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गर्ने आयोजकले जनाएको छ । सिमरा रङ्गशालामा वैशाख ११ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरी १२ टिमको सहभागिता रहने आयोजक युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।
पहिलो पटक डे नाइट खेल हुन गइरहेको सिमरा गोल्डकपका लागि मैदानको स्तरोन्नति, फ्रड लाइट जडान तथा अन्य व्यवस्थापकीय सबै तयारी सकिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो छ ।
प्रतियोगितामा नेपालका विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), हिमालयन शेर्पा, सङ्कटा क्लब लगायतका राष्ट्रिय एवं अफ्रिकन रुटस एसोसेशन क्यामरुन लगायतका टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगर रहेको प्रतियोगिताको प्रायोजक विश्वकर्मा सिमेन्ट रहने छ । यस वर्षको प्रतियोगितामा विजेता टिमले नगद ७ लाख र उपविजेता टिमले ३ लाख ५० हजार पुरस्कार पाउने छन् ।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button