तपाईँ सुन्दै हुनुहुन्छः

उद्यमी बन्दै ग्रामीण महिला

जुम्ला । विगतमा घरधन्दा र मेलापातमा मात्रै सीमित हुने जुम्लाका ग्रामीण महिला पछिल्लो समय आर्थिक आम्दानीका क्षेत्रमा सक्रिय हुन थालेका छन् ।

समूह सहकारी तथा स्थानीय तहले सञ्चालन गरेका सशक्तीकरणका कार्यक्रमपछि यहाँका महिला व्यापार व्यवसाय,उद्यमशीलता लगायत आर्थिक आम्दानीका गतिविधिमा सक्रिय हुन थालेका हुन् ।

पातारासी गाउँपालिका ५ की राजकली रावत लगायत अन्य महिला आजभोली होमस्टे सञ्चालन गरिरहेको अवस्थामा भेटिन्छन् । पहिले दैनिक मेलापात र घरधन्दामै सीमित हुने उनीहरु अहिले होमस्टेमा पाहुनालाई स्वागत गर्नमै व्यवस्थ छन् ।

हातेमालो नेपालको सहयोगमा पातारासी गाउँपालिका ५ स्थित मुगु राराताल जाने बाटोमा पटमारा होमस्टे सञ्चालित छ । जसको नेतृत्व पातारासीका ६ जना ग्रामीण महिलाले गरिरहेका छन् ।

पटमारा होमस्टेको अध्यक्ष समेत रहेकी रावतले भन्नुभयो,“महिलाले केही गर्न सक्दैनन् भन्ने साँेच अझै विद्यमान छ । तर हामी गाउँका महिला धेरै सचेत भइसकेका छौ ।’ उहाँले भन्नुभयो, ‘आर्थिकरुपमा सक्षम बन्न महिला आफै अघि बढ्नुपर्छ भनेर हामीले होमस्टे सञ्चालन गरेका हौ । यो कामलाई निरन्तरता दिन्छौ ।”

जुम्ला,उर्थुहँुदै मुगु रारा जाने छोटो पर्यटकीय मार्ग पनि भएकोले पटमारा होमस्टेमा आन्तरिक पर्यटक धेरै आउने गरेको रावतले बताउनुभयो । स्थानीय महिला कविता बुढा, जकली थापा, हस्तना थापा,जनदेवी थापा लगायतका ६ जना महिला नियमित होमस्टेको काममा जुटिरहेको अवस्थामा भेटिन्छन् ।

औपचारिक पढाई लेखाई नभएपनि सङ्घसंस्था,समूह सहकारी र स्थानीय सरकारको चेतनाले गर्दा ग्रामीण महिला आर्थिक आम्दानीमा अग्रसर भएको स्थानीय महिला जनदेवी थापाले बताउनुभयो । परम्परागत पहिरनको प्रचार,अर्गानिक कृषि वस्तुको व्यापार तथा आर्थिक आम्दानी पनि राम्रो हुने भएकोले ग्रामीण महिलालाई होमस्टेमा आकर्षित भएको थापाको भनाई छ ।

रावतको समूह जस्तै पातारासीकै १० जना महिलाको अर्को समूह सफल उद्यमी बन्ने लक्ष्यका साथ ढाका बुनाइको तालिम लिइरहेका छन् । ३ महिना तालिम लिएर सिकेको सिपले गाउँमै उद्यमशीलता गर्ने सोचाइमा उनीहरू छन् । अहिले उनीहरूले ढाकाका दोसल्ला,टोपी, पछ्यौरी,चोले बुनिरहेका छन् ।

यता तातोपानी गाउँपालिका २ की बेलु चनाराले पनि एक महिने हातेहोजियारी तालिम लिएकी छन् । उनी व्यवसायीक रुपमा हातेहोजियारीको कामलाई अघि बढाउने तयारीमा छन् ।

पहिला बजारबाट जुराप,टोपी स्वीईटर किन्ने चनारा अहिले आफैले घरमै यी वस्तु बुन्नेमात्र भएकी छैनन् अरूका लागि बेच्नका लागि उत्पादन गर्न सक्षम बनिसकेको सुनाउँछिन् ।

चन्दननाथ नगरपालिकाकी हस्तना न्यौपानेले डेरी उद्योबाटै मनग्य आम्दानी गर्दै आएकी छन् । सानो लगानीमा सञ्चालन गरिएको उद्योगले अहिले रोजीरोटी जुटेको उहाँको भनाई छ ।

पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले उद्यमी महिलाले उत्पादन गरेका ढाकाका विभिन्न सामाग्रीको बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“तालिमपछि प्रविधि पनि हस्तान्तरण गर्ने छौ । आयातित दोसल्ला प्रतिबन्ध लगाउने र ढाकाका दोसल्लालाई बढवा दिने नीति लिएका छौ । नमुना व्यवसायीलाई अनुदानको समेत व्यवस्था गरिएको छ ।”
हातेमालो नेपालका कार्यकारी निर्देशक टेक रावतले पर्यापर्यटनको संरक्षणका लागि होमस्टे सञ्चालनमा सहयोग गरेको बताउनुभयो । होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने करिब २ लाख ७० हजार बराबरको सामाग्री तथा तालिम दिइएको उहाँले बताउनुभयो । परम्परागत घरलाई सिँगार्ने,शौचालय बाथरुम बनाउन समेत सहयोग गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button